फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको समृद्धिबाट नेपालले फाइदा लिनुपर्ने चिनियाँ बुद्धिजीबीको भनाइ

(GMT+08:00) 2017-11-12 14:33:59

चीनको सियानस्थित विज्ञहरुको संस्था थिंक ट्यांक साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यालेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव दिनु भएको छ। उहाँ भन्नुहुन्छ, 'विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको यो आयोजना र यहाँको समृद्धि नेपालजस्तो छिमेकीका लागि समुद्र नै हो, यसबाट कति पानी उभाएर लिने भन्नेकुरा उसको क्षमता र अग्रसरतामा भरपर्दछ।'

राष्ट्रिय समाचार समितिका अनुसार उक्त इन्स्टिच्युटमा हालै आयोजित एक अन्तरक्रियामा उहाँले चीनको यस विशाल आयोजनाको सुरु नै साङ्सी प्रान्तबाट भएकोले यहीँबाट नेपालप्रति सद्भाव मात्र राखेको र लाभको 'मोडालिटी' भने नेपालले नै तयगरी लाभ लिनसक्नेगरी अघि बढ्न सुझाएको बताउनुभयो।

प्राध्यापक चाङले नेपाल र दुवै देशको फाइदाका लागि अत्यावश्यक आधारभूत पूर्वाधार भनेको 'कनेक्टीभिटी' (सडक सञ्जाल) नै भएको बताउनुभयो। 'हुनत कतिपय मानिसहरु बीआरआईलाई बाटो नै भन्ने ठानेका छन्, तर त्यतिमात्र नभए पनि 'सहज स्थलमार्ग' द्विपक्षीय फाइदाको आधारभूत आवश्यकता हो र यसबाट नेपालमा चिनियाँ लगानीदेखि चिनियाँ पर्यटकसम्मलाई प्रत्यक्ष फाइदा पुग्नेछ,' उहाँको धारणा थियो।

'नेपालमा लगानी गर्न जाने चाहना कैयौँ चिनियाँ उद्योगी व्यवसायीहरुको छ। हाम्रो संस्थामार्फत समेत उनीहरुले यस्तो इच्छा व्यक्त गरेका छन्। तर पनि उनीहरुमा नेपालमा लगानीको सुनिश्चितताको विश्वास छैन। नेपालमा लगानी जोखिमपूर्ण रहेको सोँच चिनियाँ लगानीकर्तामा छ। यो भ्रम नेपालले चिर्न सक्नुपर्छ,' उहाँ भन्नुहुन्छ,'अनि सडक सहज नहुदा व्यापारिक आदान प्रदान र आयात निर्यातको सहजतामा उनीहरु प्रश्न गर्छन्। त्यसैले यस्तो कुराको बढी चासो र अग्रसरता नेपालले लिनुपर्छ र दुवै देशले पहिलो चरणमा कम्तीमा पनि सडक संजालले जोड्नुपर्छ।'

सडकपछि द्विपक्षीय व्यापारमा नेपालले जोड दिनुपर्ने र नेपालबाट चीनतर्फ निर्यात गर्नसक्नेगरी उत्पादनमा जान सक्नुपर्नेमा उनको जोड छ। उहाँले आफूहरुले आफ्नो छिमेकी समृद्ध भएको देख्न चाहेको बताउँदै भन्नुभयो,'नेपालले चीनबाट फाइदा लिनसक्ने भनेको व्यापार, लगानी र पर्यटन नै हो। नेपाल सुनेका प्रत्येक चिनियाँको नेपाल हेर्ने इच्छा छ। तर धेरैलाई नेपालबारे थाहा छैन।'

यो संयोग पनि हुनसक्छ कि सियानमा उहाँले यो बिचार राखिरहँदा नेपालमा पनि चाइना रेलवे एड्मिनिस्ट्रेशनका अधिकारीहरुले केरुङ काठमाडौँ हुँदै लुम्बिनीसम्मको रेलमार्गका लागि सर्वे गरिरहेका थिए। उनीहरुले नेपाल सरकार इच्छुक भएमा केरुङ– काठमाडौँ रेलमार्ग सम्भव रहेको भन्दै यसको लागतसमेत निकालेका थिए। चीनले सन् २०२० सम्ममा उक्त रुटको रेलमार्ग पूरागर्नेगरी काम गर्न सकिने बताउदै आएको छ।

चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना 'बेल्ट एण्ड रोड इनिसिएटिभ'(बीआरआई) को समझदारी पत्रमा नेपालले गत बैशाखमा हस्ताक्षर गर्यो। 'ओबिओआर सडक जोड्ने मात्र होइन, तर सडक सहज हुँदा त्यसबाट बढ्ने जनस्तरको सम्बन्ध र आयात निर्यातको फाइदा भोलिका दिनमा हामीले सोचेभन्दा धेरै बढी हुनेछ,' उहाँ भन्नुहुन्छ, 'यसले नेपाललाई आगामी दिनमा आर्थिक विकासमा ठूलो सहयोग पुर्याउने छ।'

भूपरिवेष्ठित नेपाललाई सडक संजालले जोड्न सकिएमा विश्वको ठूलो पर्यटन बजारका चिनियाँ पर्यटक नेपाल पुग्ने र यस आयोजनामार्फत नेपालमा पूर्वाधारको निर्माण गर्नसके चीन र अरु देशको पनि लगानी भित्रिने उहाँको विश्लेषण छ। यस आयोजनामा बहुआयामिक प्रकृतिका संजाल रहन्छन्। जस्तो कि रेलमार्ग, सडकमार्ग, सामुद्रिक मार्ग, हवाईमार्ग, पाइपलाइन, उर्जाको ग्रिड, ट्रान्समिसन लाइन, इन्टरनेट र अन्य।

चीनले अघि सारेको यो पछिल्लो अवधारणलाई यस शताब्दीको सबैभन्दा ठूलो र महत्वाकांक्षी आयोजनाका रुपमा लिइन्छ। उक्त आयोजनाले प्रत्यक्षरुपमा एसिया र युरोपका कम्तीमा ६४ देशलाई जोड्छ। तीमध्ये अधिकांश देश विकासशील छन्। यस आयोजनाले छुने वा प्रत्यक्ष जोड्ने देशका नागरिकको हिसाब गर्दा विश्वको ६४ प्रतिशत जनसङ्ख्या यसले ओगट्छ। त्यसैगरी अरु आर्थिक सूचकांकको हिसाब गर्ने हो भने पनि यसले विश्वको कुल ग्राहस्थ उत्पादनको करिब ३७ प्रतिशत हिस्सा समेट्छ। यो अवधारणाको सुरुवात चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा गर्नुभएको थियो।

रासस

जानकारी तथा लेखहरु