फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केरुङ–काठमाडौं रेलमार्गले नेपाललाई दीर्घकालीन फाइदा हुने विज्ञहरूको भनाइ

(GMT+08:00) 2017-11-13 16:30:59

केरुङ–काठमाडौं रेलमार्ग निर्माण लागत तीन खर्ब लाग्ने र तत्काल यसले आर्थिक प्रतिफल दिन नसक्ने भए पनि मुलुकको दीर्घकालीन फाइदाका लागि लगानी गर्नुपर्ने वरिष्ठ अर्थविद्हरूले औंल्याएका छन्। भर्खरैमात्र केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन गरेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले यसको निर्माणमा झन्डै तीन खर्ब रुपैयाँ लगानी लाग्ने बताएका छन्। यो मार्ग भविष्यका लागि मुलुकको रणनीतिक (स्ट्राटेजिक) रोड भएकाले अहिले नै मौद्रिक मूल्यमा दाँज्न नहुने विज्ञहरुको भनाइ छ।

राजनीतिक, आर्थिक तथा सामाजिक रुपमा मुलुक अहिले जस्तो अवस्थामा छ, यस आधारमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग रणनीतिक बाटो हुने उनीहरुको धारणा छ। 'अहिले नै हामीले यात्रु चाप कति होला, कति लागत लाग्ला र प्रतिफल कति आउला भन्नु भएन,' पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले भन्नुभयो। तत्काललाई अलिकति बढी लगानी भएपनि त्यो ऋण रेल सेवाबाटै तिर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो।

योजना आयोगका अर्का पूर्वउपाध्यक्ष शंकर शर्माले कुनै पनि ठूलो लगानीबाट तत्काल फाइदा नहुने भन्दै रेलमार्ग बनाउन सके यसबाट मुलुकलाई दीर्घकालीन नाफा हुने बताउनुभयो।

पहिलो, केरुङ–काठमाडौं रेलमार्गबाट नेपालले चीन र भारतको 'ट्रान्जिट इकोनोमी'को फाइदा लिन सक्ने खतिवडाले बताउनुभयो। शर्माले पनि चीन र भारतलाई यस रेलमार्गले जोड्न सके दुई देशबीच आर्थिक गतिविधि बढ्ने र यसले नेपाललाई प्रत्यक्ष फाइदा पुग्ने विश्लेषण गर्नुभयो।

दोस्रो, उक्त मार्ग नेपालले दीर्घकालीन रुपमा पर्यटनमा फड्को मार्ने अवसर बन्न सक्ने दुवै विज्ञको विश्लेषण छ। नेपालले वस्तु निर्यातभन्दा पनि सेवा क्षेत्रमा फाइदा लिन सक्छ। उक्त रेलमार्गबाट १२ देखि २४ घन्टाभित्रमा नेपालमा कम्तीमा एक रेल चिनियाँ पर्यटक आउने हो र वर्षमा १०–१५ लाख पर्यटक ल्याउन सक्ने हो भने आर्थिक रुपमा मुलुकले फड्को मार्न सक्ने सम्भावना रहेको खतिवडाको विश्लेषण छ।

तेस्रो, पेट्रोलियम पदार्थ र अन्य वस्तु ल्याउन परे वैकल्पिक मार्गका रुपमा प्रयोग हुन सक्छ । भारतबाट आउने भनिएको पेट्रोलियम पाइपलाइन र चीनबाट आउने रेलमार्ग एकैपटक भयो भने जहाँबाट सस्तो पर्छ त्यहाँबाट ल्याउन सकिने छ।

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा गत सोमबार काठमाडौं आएको २३ सदस्यीय उच्चस्तरीय टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्ग स्थलगत भ्रमणमा गरेको हो। पाँच दिनसम्म दुई नेपाली अधिकारीसँग मिलेर स्थलगत अध्ययन गरेको टोलीले शुक्रबार छलफल गर्दै ७२ किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा भू–बनोट चुनौती भए पनि बनाउन सकिने निष्कर्ष निकालेको थियो।

नागरिकन्यूज डटकमका अनुसार पाँच दिनको भ्रमणमा चिनियाँ टोलीले काठमाडौं–पोखरा र भैरहवा रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो।

जानकारी तथा लेखहरु