फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू

(GMT+08:00) 2017-11-14 15:03:12

चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै संस्कृतिअनुसार पूजा गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालेको छ। आइतबारदेखि निर्माण उपकरण र मजदुरलाई जमीन सम्याउन काममा खटाएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले जानकारी दिनुभयो। चिनियाँ निर्माण कम्पनीका तर्फबाट चिनियाँ परम्पराअनुसार नै पूजा गरिएपछि विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले निर्माणको उदघाटन गर्नुभएको थियो।

शिलान्यासको झन्डै २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको अनलाइन खबरले लेखेको छ। अहिले हिउँदसम्ममा विमानस्थलको जमीन सम्याउने काम सक्ने गरी मजदुर खटिएका छन्। राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो। विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन्। ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिनुभयो।

विमानस्थल निर्माणको काम थाल्न चिनियाँ टोली साउनमै पोखरा आएर आवास र कार्यालय प्रयोजनको अस्थायी भवन निर्माणमा लागेको थियो। अहिले त्यो काम पूरा भएसँगै निर्माणको काम थालिएको हो। चिनियाँ कम्पनीले काम थाले पनि नेपाल सरकारले पूरा गर्नुपर्ने प्रक्रिया भने अझै बाँकी छ।

दुई देशबीच सबै कानुनी जटिलता टुंगिएर निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहने कम्पनीले जनाएको छ। १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार '४डी' विमानस्थल बन्न लागेको छ । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन्। विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो। त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेका छन्।

पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो।

जानकारी तथा लेखहरु