फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तामाकोसी जलविद्यत आयोजनाको सुरुङ छिचोलियो

(GMT+08:00) 2017-11-20 15:20:59

नेपालको राष्ट्रिय गौरवको आयोजना 'माथिल्लो तामाकोसी जलविद्युत्' को सबैभन्दा जोखिम तर महत्त्वपूर्ण मानिएको नदीको पानी छिराउने मुख्य सुरुङ आइतबार छिचोलिएको छ। ४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् मुलुककै निर्माणाधीनमध्ये सबैभन्दा ठूलो आयोजना रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

आयोजनाको ८.५ किमि लामो मुख्य सुरुङको करिब ५ किमि भागलाई दुवैतिरबाट खनेर 'हेडरेस टनेलको ब्रेक थु्रु' भएको (छिचोलिएको) हो। यो ब्रेक थ्रुसँगै विगु गाउँपालिकास्थित आयोजनाको मुख्य सुरुङको सम्पूर्ण खन्ने काम सकिएको छ भने आयोजनाको समग्र भौतिक संरचना निर्माण प्रगति ९२ प्रतिशत पुगेको छ। आयोजनाले २०७५ पुससम्ममा विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ। विद्युत् उत्पादन सुरु भएलगत्तै अर्को हिउँदमा मुलुकमा लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुग्ने विद्युत् प्राधिकरणका अधिकारीहरूको भनाइ छ।

जोखिमपूर्ण क्षेत्रको सुरुङलाई विस्फोट गरी आइतबार बिहान सफलतापूर्वक छेडिएपछि विद्युत् प्राधिकरणका उच्च अधिकारी, कर्मचारी, लगानीकर्तादेखि श्रमिकसम्म सबैले खुसी साटासाट गरेका थिए। मुख्य सुरुङ जोडिन बाँकी रहेको अन्तिम २ मिटर भागलाई छेडेर एकआपसमा जोडेपछि ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठलगायत टोली दुवैतिरबाट आई हात मिलाउँदै आपसमा बधाई साटासाट गर्नु भएको थियो। एक टोली मुख्य सुरुङको भैंसे अडिट र अर्को टोली गोंगरडाँडा अडिटबाट छिरेर ब्रेक थ्रु विन्दुमा भेट्नु भएको थियो। भैँसे अडिटबाट करिब ३.३ किलोमिटर र गोंगरडाँडा अडिटबाट करिब १.७ किलोमिटर खनेर सुरुङ छिचोलिएको आयोजनाले जनाएको छ।

'भूगर्भभित्रको सबभन्दा मुख्य कार्य सफल भएकाले आजको दिन एकदमै उत्साहको दिनका रूपमा लिएका छौं,' आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो। मुख्य सुरुङको ब्रेक थ्रुको सफलताले अर्को वर्षको पुसभित्र आयोजनाले विद्युत् उत्पादन गरी बिक्री थाल्ने विश्वास जागेको उहाँले बताउनुभयो। अब आयोजनाको सर्ज सुरुङ र सर्ज साफ्ट सुरुङ निर्माण बाँकी छ, हालसम्म १७.२५ किमि सुरुङ निर्माण पूरा भएको आयोजनाले जनाएको छ। ०६७ मा निर्माण सुरु आयोजना ०७१ चैतभित्र सम्पन्न हुने लक्ष्य राखिएको थियो। भूकम्प र नाकाबन्दीका कारणले करिब एक वर्ष निर्माण अवरुद्ध हुन पुगेको थियो।

जलविद्युत् आयोजनामा शिलान्यास, मुख्य सुरुङको ब्रेक थ्रु र विद्युत् उत्पादन उद्घाटनलाई महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। आयोजनाबाट करिब एक वर्षमा विद्युत् उत्पादन हुने निश्चित भएको आयोजनाले जनाएको छ। प्रारम्भिक इस्टिमिट ३५ अर्ब २९ करोड भनिए पनि हाल लागत बढेर करिब ४२ अर्ब पुग्ने अनुमान गरिएको छ। आयोजनाले गत असोजमा प्रकाशन गरेको प्रगति विवरणअनुसार ३५ अर्ब ८३ करोड नेपाली रुपैयाँ खर्च भइसकेको छ। विद्युत् प्राधिकरणले तामाकोसी हाइड्रो पावर लिमिटेड कम्पनी गठन गरी कार्य लगानीको वातावरण बनाएर सुरु गरेको आयोजनाले दोलखाली जनताका लागि १० प्रतिशत, सर्वसाधारणका लागि १५ प्रतिशत सेयरको व्यवस्था गरेको छ। प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थान तथा नेपाल सरकारको लगानीमा आयोजना निर्माण भइरहेको हो।

हाल आयोजनालाई ढुवानी कार्य सबभन्दा चुनौतीपूर्ण बनेको छ। पुष्पलाल मार्गको लामोसाँघु–जिरी सडक र दोलखा–सिंगटी सडक स्तर वृद्धि गर्ने क्रममा रहेकाले भइरहने अवरोधका कारण काम प्रगतिअनुसार अघि बढ्न सकेको छैन। आयोजनाका सामानहरू वीरगन्ज आइपुगे पनि कार्यस्थल पुग्न निकै कठिनाइ सामना गर्नुपरेको छ।

जानकारी तथा लेखहरु