फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वित्तीय लेखामानमा एकरूपता गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

(GMT+08:00) 2017-12-09 14:24:37

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आफ्नो वार्षिक वित्तीय विवरण तयार पार्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार राख्नुपर्ने जनाएको छ। राष्ट्र बैंकले 'क' वर्गका वाणिज्य बैंकहरूलाई लागू गरेको एनएफआरएस लाभांश स्वीकृति प्रयोजनका लागि कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) र अन्य व्यवस्था कायम गरी लेखांकन गरेर मात्र नाफा र नोक्सानको गणना गर्न पाइने कारोबार अनलाइनले लेखेको छ। राष्ट्र बैंकले शुक्रबारदेखि परिपत्र गरेर क वर्गको लागिमात्र लागू भए पनि बिस्तारै सबै बैंक तथा वित्तीय संस्थाहरूमा एनएफआरएस लागू हुने आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले बताउनुभयो। उहाँका अनुसार साना तथा मझौला उद्योगले २ वर्षपछि एनएफआरएस लागू गर्ने भए पनि हाल वित्तीय संस्थाहरू केहि संस्थाले भने एनएफआरएस लागू गरिसकेका छन्। यसअघि पनि केही बैंकले लागू गरिसकेको एनएफआरएस अब क वर्गमा अनिवार्य गरेकोमा केन्द्रीय बैंकलाई धन्यवाद दिँदै उहाँले अब नियामक निकायबीचको यो सहकार्यले भविष्यमा अन्य क्षेत्रमा पनि एनएफआरएस लागू गर्न सहज हुने बताउनुभयो। दुवै नियामक निकाय आइक्यान तथा राष्ट्र बैंकको यो सहकार्यले नेपाली लेखा प्रणालीका कारण देशभर नै लेखामानको एकरूपता हुने पनि उहाँको भनाइ छ।

राष्ट्र बैंकले अनिवार्य गरेको एनएफआरएस अब बैंकले तयार गर्ने कम्प्लायन्स वित्तीय विवरणबमोजिमको नाफा राष्ट्र बैंकको नियमनकारी निर्णयपछि फरक पर्न गएमा त्यसलाई बार्षिक विवरणमा टिप्पणीका रूपमा खुलाउनु पर्छ। यसरी फरक पर्ने रकमलाई 'स्टेटमेन्ट अफ चेन्ज इन इक्विटी'मार्फत सञ्चित मुनाफा खाता खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्छ।

राष्ट्र बैंकका अनुसार पहिलो आर्थिक बर्षपछि हरेक बर्षको एनएफआरएस बमोजिमको वित्तीय विवरणको नाफा नोक्सान र नियमनकारी नाफा नोक्सानमा फरक पर्ने रकमलाई नियमनकारी कोषमा जम्मा गर्नु पर्दछ भने वाणिज्य बैंकले नियमनकारी कोषमा जम्मा भएको तथा खर्च भएको रकमसहित कोषमा भएको परिवर्तनको खुलासा आफ्नो वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीमा गर्नु पर्दछ। तर, नियमनकारी कोषमा जम्मा भएको रकमलाई पुँजीकोष अनुपातमा गणना गर्न पाइँदैन।

एनएफआरएसअन्तर्गत वित्तीय सम्पत्ति, लगानी सम्पत्तिजस्ता सम्पत्तिहरू फेस भ्यालूमा लेखांकन गर्नुपर्ने ब्यवस्था गरिएको जानकारी दिदै थापाले फेस भ्यालूमा परिवर्तन भएको रकम कतिपय अवस्थामा नाफा नोक्सानमा समावेश नगरी रिजर्भ खडा गरी राख्नुपर्ने हुँदा फेयर भ्यालुमा लेखाङ्कनको कारणले सिर्जना भएका रिजर्भलाई पनि पूँजी कोष अनुपातमा गणना गर्न नपाइने भएको जनाउनुभयो। राष्ट्र बैंकका अनुसार बैंकहरूले चालू वर्षको चौथो त्रैमासिक बिवरण अर्थात असार मसान्तको विवरण नियमनकारी प्रावधान तथा एनएफआरएस बमोजिम दुबै ढाँचामा प्रकाशित गर्नु पर्दछ भने हरेक त्रैमासमा एनएफआरएस बमोजिम प्रकाशित गरे हुन्छ।

जानकारी तथा लेखहरु