फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खेती भएको जमिन बढ्यो

(GMT+08:00) 2017-12-11 16:22:52

          वैदेशिक रोजगारीले कृषियोग्य जमिन बाँझो रहने चिन्ता बढ्दै गएको समयमा नेपाल राष्ट्र बैंकले कृषिमा प्रयोग भएको जमिनको क्षेत्रफल बढेको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आव ०७३-७४ मा ५७ जिल्लामा गरेको आर्थिक गतिविधि अध्ययनअनुसार प्रमुख कृषिबालीहरू खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल र मसलाले ढाकेको कुल क्षेत्रफलमा २.२ प्रतिशतले वृद्धि भएको देखिएको छ।

          समीक्षा अवधिको अघिल्लो वर्ष बालीले ढाकेको जमिनको क्षेत्रफल ०.५ प्रतिशतले कमी आएको थियो। समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा पनि २.३ प्रतिशतले वृद्धि भएको छ। अर्थात् खाद्यबाहेक अन्य खेती गरिएको जमिनको क्षेत्रफल पनि ०.१ प्रतिशतले बढेको नयाँ पत्रिकाले लेखेको छ।

          खेती भएको जमिनको क्षेत्रफलमा वृद्धि भए पनि सबै प्रकारको खाद्यान्नको उत्पादन भने बढेको छैन। समीक्षा वर्षमा धान, मकै, गहुँ, कोदो, जौ, आलु, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ। तर, फापर, उखु, सुर्ती, सनपाट र भटमासले ढाकेको क्षेत्रफलमा भने कमी आएको राष्ट्र बैंकको तथ्यांक छ।

          राष्ट्र बैंकले काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीलाई आधार मानेर वरपरका ५७ जिल्लामा अध्ययन गरेको थियो। जसअनुसार पोखरा र धनगढी क्षेत्रमा कृषि उपजले ढाकेको भूक्षेत्रमा कमी आएको देखिएको छ। अन्य क्षेत्रहरूमा भने कृषि उपजले ढाकेको क्षेत्रफल बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। विराटनगर, जनकपुर र धनगढी क्षेत्रमा पनि तरकारीले ढाकेको क्षेत्रफल घटेको तथ्यांक छ। समीक्षा वर्षमा प्रमुख कृषि बालीहरू खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसलाको कुल उत्पादन ८.८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्ता बालीहरूको उत्पादनमा ०.६ प्रतिशतले कमी आएको थियो। त्यस्तै समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन १०.८ प्रतिशतले वृद्धि भएको देखिन्छ छ। सोही अवधिको अघिल्लो वर्ष यस्ता उत्पादनमा १.५ प्रतिशतले कमी आएको थियो। समीक्षा वर्षमा धानको उत्पादन २३.९ प्रतिशत, मकैको उत्पादन ७.५ प्रतिशत तथा गहुँको उत्पादन १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष धानको उत्पादन १०.४ प्रतिशत तथा गहुँको उत्पादन ५.६ प्रतिशतले घटेको थियो। मकैको उत्पादन भने अघिल्लो वर्ष ३.६ प्रतिशतले बढेको थियो।

         सरकारले निरन्तर प्रयासले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउन सफल भएको राष्ट्र बैंकले जनाएको छ। सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत कृषि उत्पादकत्व बढाउन विभिन्न योजना अघि सार्ने गरेको छ। परियोजनामूलक, अनुदानमूलक कार्यक्रम र सो कार्यक्रमलाई सघाउ पुर्‍याउन नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा विभिन्न योजना राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने गरेको छ। सोही कारण समग्र कृषि क्षेत्रमा व्यावसायिक आकर्षण बढेको राष्ट्र बैंकको निष्कर्ष छ। कृषि क्षेत्रमा सिँचाइको सुविधा विस्तार र राष्ट्रियस्तरमा निर्माणाधीन आयोजनहरू तोकिएको समयमै सम्पन्न भएमा कृषिले ठूलो फड्को मार्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

जानकारी तथा लेखहरु