फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायु सेवा निगमले यात्रुका लागि विमानमै उपहार किन्ने व्यवस्था गर्दै

(GMT+08:00) 2017-12-16 17:56:37

       विदेशबाट फर्कंदै गर्दा घरपरिवार र साथीभाइका लागि गिफ्ट किन्न छुट्न सक्छ। तर, नेपाल वायुसेवा निगमका विमानबाट स्वदेश फर्किंदै गरेका यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुअघि नै उपहारका सामग्री खरिद गर्न सक्नेछन्।

       निगमले तीन महिनाभित्र यस्तो सेवा शुरु गर्दैछ। त्यसका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी १० जनवरीभित्र इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन्।

        एसिया र मध्यपूर्वका ड्युटी फ्री तथा ट्राभल कम्पनीलाई मुख्य प्राथमिकता दिइने श्रेष्ठले जानकारी दिनुभयो। ।

        छनोट भएको कम्पनीले कम्तिमा १० वटा एयरलाइन्सहरुलाई सेवा दिइरहेको हुनुपर्ने प्रावधान छ । वार्षिक ५० लाख यात्रुलाई सेवा दिन सक्ने कम्पनीले मात्रै आवेदन दिन पाउने छन्।

       उक्त सेवालाई 'इन फ्लाइट ड्युटी फ्री सर्भिस' भनिन्छ । छनोट हुने कम्पनीले निगमका विमानभित्रै चस्मा, पफ्र्युम, गिफ्ट आइटम र मेकअपका सामान बिक्री गर्नेछ। उपहारका सामग्री भने निगमकै 'क्रु मेम्बर'ले यात्रुसम्म पुर्‍याउनेछन्।

         श्रेष्ठका अनुसार उक्त सेवा निगमका विमानमा धेरै वर्षअघि थियो। बीचमा आएको उतारचढावका कारण बन्द भएको थियो। र, फेरि शुरु गर्न लागिएको हो।

        अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उक्त सुविधा उपलब्ध गराउँछन्। श्रेष्ठ भन्नुहुन्छ, 'अन्य एयरलाइन्सजस्तै हामीले पनि सुविधा थप गर्न लागेका हौं।' उक्त सुविधा नेपालबाट बाहिरिँदा पनि उपलब्ध हुनेछ।

पाँच वर्षका लागि छनोट हुने कम्पनीलाई सामान प्याक गर्न निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै ठाउँ उपलब्ध गराउने छ।

        राष्ट्रिय ध्वजाबाहक निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले एक बोइङ–७५७ र दुई एयरबस–३२१ विमान उपलब्ध छन् । थप दुई वटा वाइडबडी एयरबस खरिदको प्रक्रियामा छन्। मे २०१८ सम्ममा दुवै विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइसक्ने निगमको लक्ष्य छ।

         थप दुई वटा न्यारोबडी विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने तयारीमा छ, निगम । ती सबैमा उक्त सुविधा उपलब्ध हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु