फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली जलविद्युतमा चिनियाँ कम्पनीको २० अर्ब थपिँदै

(GMT+08:00) 2018-01-07 14:42:14

        नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ कम्पनीको २० अर्ब रुपैयाँ वैदेशिक लगानी थपिने भएको छ। हाइड्रो चाइना कर्पोरेसनले रसुवाको माथिल्लो त्रिशूली २ मा २० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्न सरकारसमक्ष प्रस्ताव पेस गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

        उद्योग विभागका अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिका लागि प्रस्ताव पेस गरेको हो। चीनबाट विदेशी लगानी भित्र्याउनेमा यो ठूलो कम्पनी मानिन्छ। विभागका अनुसार रसुवाको गेसाइँकुण्ड गाउँपालिका–५ र पार्वतीकुण्ड गाउँपालिका–२ र ४ मा अवस्थित त्रिशूली नदीमा १ सय २ मेगावाट क्षमताको विद्युत् आयोजनामा लगानी गर्न चाहेको हो। हाइड्रो चाइनाले शतप्रतिशत विदेशी लगानीको प्रस्ताव पेस गरेको छ।

    'प्रस्ताव पेस भएको धेरै भइसक्यो। उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्डको बैठक नबसेकाले प्रस्ताव स्वीकृत हुन सकेको छैन,' बोर्डका एक अधिकारीले भने, 'आगामी बस्ने बोर्ड बैठकमा हाइड्रो चाइनाको प्रस्ताव पेस हुनेछ।' विद्युत् विकास विभागले माथिल्लो त्रिशूली २ का लागि लगानीपूर्वका सबै काम पूरा गरिसकेको छ। वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ। विदेशी लगानी स्वीकृत भएलगत्तै निर्माणको काम सुरु गर्ने गरी हाइड्रो चाइनाले प्रस्ताव पेस गरेको हो। आयोजनाको निर्माण अवधि पाँच वर्षको हुने जनाइएको छ। कम्पनीले चालु पुँजी ६ करोड ५० लाख र स्थिर पुँजी २० अर्ब ३१ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ।

        कम्पनीको उक्त प्रस्ताव उद्योगमन्त्रीको अध्यक्षतामा बस्ने औद्योगिक प्रवद्र्धन बोर्ड बैठकले स्वीकृत गर्नुपर्नेछ। दुई करोड रुपैयाँसम्मको लगानी उद्योग विभाग, त्यसभन्दा माथि १० अर्ब रुपैयाँसम्म औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्ब रुपैयाँभन्दा माथिको लगानी प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्ड बैठकले स्वीकृति दिनुपर्ने हुन्छ। जलविद्युत्को विदेशी लगानी भने पाँच सय मेगावाटभन्दा कम क्षमताको औद्योगिक प्रवद्र्धन बोर्ड र त्यसभन्दा माथि मात्रै लगानी बोर्डबाट लगानी स्वीकृत गर्ने व्यवस्था छ। माथिल्लो त्रिशूली २ को पाँच सय मेगावाटभन्दा कम (एक सय २ मेगावाटको) भएकाले औद्योगिक प्रवद्र्धन बोर्डमा पेस हुने भएको हो।

        विभागमा स्वीकृति पाइसकेको विदेशी लगानीको विवरणअनुसार गत आर्थिक वर्षसम्ममा सबैभन्दा बढी लगानी जलविद्युत् क्षेत्रमा छ। ८७ अर्ब ५७ करोड २३ लाख रुपैयाँ जलविद्युत् क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आइसकेको छ। कृषि तथा वनजन्य, निर्माण, जलविद्युत, उत्पादनमूलक, खानी, सेवा र पर्यटनमध्ये सबैभन्दा बढी जलविद्युतमा हो। जलविद्युतपछि सेवा क्षेत्रमा ४० अर्ब ५७ करोड २७ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता देखिन्छ। विदेशी लगानीका प्रतिबद्धता ७५ वटा जलविद्युत् आयोजनामा देखिन्छ।

         नेपाली लगानीकर्तासहित जलविद्युत् क्षेत्रमा ६ खर्ब १४ अर्ब ८२ करोड १५ लाख रुपैयाँ लगानी प्रतिबद्धता देखिन्छ। यो कुल लगानी प्रतिबद्धताको करिब ५३ प्रतिशत हिस्सा हो।

        हालसम्म सबै क्षेत्रमा ११ खर्ब ६९ अर्ब ४० करोड ९१ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ। यसमध्ये सबैभन्दा बढीजलविद्युत्तर्फको हो। विभागले कृषि तथा वन, निर्माण, उत्पादनमूलक, खनिजजन्य, सेवा, पर्यटन र ऊर्जामूलक उद्योगको शीर्षक विभाजन गरी उद्योग दर्ता गर्ने चलन छ।

जानकारी तथा लेखहरु