फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुस्सुले नेपालको तराई क्षेत्रको जनजीवन ठप्प

(GMT+08:00) 2018-01-07 14:44:08

       निरन्तरको हुस्सुका कारण नेपालका तराईका जिल्लाहरूमा सबै व्यापार व्यवसाय ठप्प बन्दै गएको छ भने जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको छ। चिसो बढेसँगै हिँडडुल र काम गर्न समस्या भएपछि सातायता तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरूमा सबै क्षेत्र ठप्प भएको कारोबार अनलाइनले लेखेको छ। अत्यधिक चिसोका कराण अहिलेसम्म तराईका विभिन्न जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ।

       दक्षिणी र पश्चिम वायुको प्रभावले मौसम बदली भइ तराईमा चिसो बढेको र केही दिनयता तापक्रम कम रहेको जल तथा मौसम बिभाग फिल्ड कार्यालय सिमराले जनाएको छ। चिसोकै कारण तराईका अस्पतालहरूमा बिमारीको चाप बढ्न थालेको छ भने श्वासपश्वास, झाडावान्ता, ज्वरो, निमोनिया, रुघाखोकी र ब्रोङ्काइटिसलगायतका बिरामी बढेको छ। विरामीमध्ये वृद्धवृद्धा तथा बालबालिकाको संख्या बढी रहेको तराई अस्पतालका सिमराका सञ्चालक डा. रवीन्द्र सिंहले बताउनुभयो।

        बाक्लो हुस्सुले कठ्यांग्रिने गरी जाडो बढेपछि तराईका जिल्लाहरूमा विद्यालय बन्द हुने क्रम सुरु भएको छ। कतिपय निजी तथा सरकारी विद्यालयहरू आफैं बन्द गरेका छन् भने जिल्ला शिक्षा कार्यालय बाराले पनि जिल्लाभरका विद्यालयमा ६ दिनको बिदा घोषणा गरेको थियो।

        कुहिरो र हस्सुका कारण सिमरा विमानस्थलको हवाई सेवा सातायता अवरुद्ध बनेको छ भने र स्थलमार्ग पनि प्रभावित बनेको छ। तराईमा हुस्सुकै कारण सबै प्रकारका यातायातहरू पूर्ण रूपले संचालन भएका छैनन्। तराई यातायात व्यवसायी संघका महासचिव शंकरकुमार विष्ट भन्नुहुन्छ, "कुहिरोले २ मिटरसमेत बाटो नदेखेपछि यातायात क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ, दिउँसै बत्ती बालेर फाटफुट सवारी भने चलेका छन्।"

        तराईको दैनिकी कष्टकर बनकै कारण उद्योग कलकारखानासमेत प्रभावित बन्न पुगेका छन्। चिसो बढेपछि उद्योगमा स्थायी कामदारसमेत कमै आउने गरेको र दैनिक ज्यालादारीका कामदारहरू सातायता उद्योगमा आउनै छाडेको उद्योग वाणिज्य संघले जनाएको छ। चिसो बढेपछि उद्योगमात्र नभइ तराईका ठूलासाना सबै सहरका बजार पसल, होटल क्षेत्रमा असर पुगेको छ। "चिसोले बजारका ग्राहकदेखि उद्योगका मजदुरसम्म प्रभाव पारेको छ, जनजीवन कष्टकर बनेको कारण हाम्रो जिल्लामा मात्र नभइ तराईभर व्यापार खस्किएको छ," जितपुर सिमरा उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव पौडेलले भन्नुभयो। लामो समय शितलहर भए सबै क्षेत्रको व्यापार चौपट हुने उहाँको भनाइ छ।

        पथलैया–वीरगञ्ज औद्योगिक करिडोरभित्रका १ हजार बढी उद्योग कलकारखानामा उत्पादन, बजार बिक्रीसमेत घटेको बताइन्छ। नयाँ वर्षमा पोखरा, चितवनका होटलहरू आन्तरिक र भारतीय ग्राहकहरूले भरिइरहँदा तराईका होटलहरूमा भने शून्यता छाएको छ। सर्वसाधारण घरभित्रै खुम्चिएका कारण बजारका पसलहरू समेत ठप्प बनेको छ, बाटोमा हिँडडुल गर्ने निकै कम भेटिन्छन्। चिसोले कार्यालयहरूमा सेवाग्राहीको उपस्थित समेत पातलिएको छ। तराईसँगै जोडिएका हेटौँडा, चितवनलगायतका सहरमा भने घाम लाग्ने हुँदा चिसोको खासै प्रभाव रहेको पाइँदैन।

जानकारी तथा लेखहरु