फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष १० लाख विदेशी पर्यटक भित्रिएपछि पर्यटन व्यवसायी

(GMT+08:00) 2018-01-09 14:12:31

१९ वर्षअघि नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सरकारी लक्ष्य थियो, १० लाख पर्यटक भित्र्याउने। सन् १९९८ को सपना २०१७ मा आएर मात्र पूरा भएको छ। अर्थात्, सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या १० लाख नाघेको छ ।नेपाल पर्यटन बोर्डका अनुसार जनवरी-डिसेम्बर २०१७ मा १० लाख ६० हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेको प्रारम्भिक तथ्यांक छ।

सन् १९९८ मा चार लाख ६३ हजार पर्यटक मात्रै आएका थिए। १० लाख विदेशीलाई नेपाल घुमाउने कुरा त्यतिबेलाका लागि सपना मात्र थियो। सन् २०१६ मा पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सन् २०१८ मा मात्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। सन् २०१८ लाई 'भिजिट नेपाल इयर'का रुपमा मनाउने घोषणा सोही सरकारले गरेको थियो।

पर्यटन व्यवसायीहरुले उक्त संख्या अपुग भएको बताउँदै आपत्ति जनाएका थिए । सोही कारण सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई 'भिजिट नेपाल इयर'का रुपमा मनाउने घोषणा गरेको छ। तथापि, सन् २०१८ को लक्ष्य वर्षदिनअघि नै पूरा भइसकेको अनलाइन खबरले जनाएको छ।

पर्यटक आगमनमा अहिलेसम्मको रेकर्ड तोडिएको छ। त्यस्तो रेकर्ड यसअघि सन् २०१२ ले बनाएको थियो, जतिबेला आठ लाख तीन हजार पर्यटक आएका थिए। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीका अनुसार त्रिभुवन विमानस्थल हुँदै आठ लाख ७० हजार पर्यटक भित्रिएका छन् ।

भैरहवा नाकाबाट डेढ लाख र रसुवागढीबाट ३२ हजार पर्यटक आएको तथ्यांक छ। यस्तै, झापाको काँकडभिट्टाबाट सात हजार पर्यटक नेपाल प्रवेश गरेका छन्।

अन्य कुनै अवरोध नभए सन् २०१८ मा १२ लाख २४ हजार पर्यटकले नेपाल भ्रमण गर्ने व्यवसायीहरुको आकलन छ । अहिले १६ लाख पर्यटक धान्ने अक्युपेन्सी क्षमता तयार भइसकेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाह बताउनुहुन्छ। त्यसबाहेक मुलुकभर खुलेका होमस्टेमा पनि पर्यटकलाई राख्न सकिन्छ।

शाहका अनुसार देशभरमा १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । चारतारे दुई, तीनतारे १२, दुईतारे २२, एकतारे १८ र तारारहित एक सय ६५ वटा छन्। पर्यटकस्तरका अन्य होटेल भने ६ सय २५ वटा छन् । र, दुई सय २६ वटा होमस्टे सञ्चालनमा छन्। सबैमा गरी २२ हजार ६ सय ६१ वटा कोठा छन्।

१२ वैशाख ०७२ को विनासकारी भूकम्पले थला परेको एक मुख्य क्षेत्र थियो, पर्यटन । विदेशी नागरिकको नेपाल भ्रमण यही गतिमा रहे भूकम्पको पीडाबाट छिट्टै बाहिरिने लक्षण भने देखिएको छ । तर, त्यसका लागि अझै पनि पूर्वाधार विकासको नाजुक अवस्थामा सुधार ल्याउन जरुरी देखिएको छ । मुलुकभरका सडक लथालिंग छन् । एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार परियोजनाले उल्लेख्य प्रगति हासिल गरेको छैन।

जानकारी तथा लेखहरु