फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत, भुटान र बंगलादेश जोड्ने पूर्वी नेपालको व्यापारिक नाकाबाट आयात बढी, निर्यात कम

(GMT+08:00) 2018-01-09 14:14:11
त्रिदेशीय व्यापारको एउटा मुख्य 'ट्रान्जिट' बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि आयात बढी र निर्यात कममा चलिरहेको छ। भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि परम्परा धान्ने तहमै सीमित हुनुका पछाडि नेपाली पक्षको उदासीनता मुख्य कारण बनिरहेको छ।

यो नाका तीनवटा देशसँग व्यापार कारोबार अघि बढाउने मुख्य ट्रान्जिट भएपनि परम्परा धानेजस्तो मात्रै भएको व्यापारीहरू बताउँछन्। अपेक्षाकृत रुपमा नेपालले आफ्नो पक्षमा पार्न नसकेको नागरिकन्यूज डटकमले लेखेको छ। भारत, बंगलादेश, भुटान तथा अन्य मुलुकबाट आयात हरेक वर्ष बढेको बढ्यै हुने तर निर्यातको सीमितता भने जस्ताको तस्तै रहने समस्या यहाँ देखिन्छ। सबैभन्दा जोखिमपूर्ण रहेको भारतसँगको कारोबार केही महिनायता अवरोधरहित रुपमा जारी छ। तैपनि अनेकौं जटिलताले पहिलेको जस्तो अवस्थामा छैन। भारतसँगको कारोबार नै घटेका कारण राजस्व असुलीसमेत घटेको छ। चालु आवको पाँच महिनामा लक्ष्यको तुलनामा ८५ प्रतिशत मात्र राजस्व संकलन गरेका कारण यो संकेत देखिएको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताउनुभयो।

'भारतसँगको हाम्रो व्यापार उसको मुडमा निर्भर छ, नीतिमा छैन,' निर्यात व्यापारका जानकार व्यवसायी सरोज साहले भन्नुभयो, 'कहिले नाकाबन्दी, नोटबन्दी हुँदै जिएसटीसम्म आइपुग्दा नेपाली पक्षलाई दुःख दिने काम मात्रै धेरै भएको छ । त्यसैले कारोबार घट्नु स्वाभाविक हो।'

भारतसँगको कारोबारमा निर्यातभन्दा आयातको आकार ज्यादै ठूलो छ । नेपालबाट अधिक निर्यात हुने कृषि वस्तुमा भारतीय अवरोध अनेक बहानामा दोहोरिने गरेको छ। खासगरी अदुवा र अलैंची जस्ता कृषिवस्तुको निर्यात कुनै न कुनै बहानामा प्रभावित भइरहेका छन्। तर, जिएसटीको सुरुआतपछि आयात पनि घटेको छ । भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेपछि पूर्वी नाका हुँदै सीमावर्ती भारतीय बजारबाट हुने मालसामानको आयात प्रभावित बनेको भन्सार अधिकारीहरुको भनाइ छ ।

जुलाई १ तारिखदेखि भारतमा जिएसटी लागू भएको हो । अहिले भारतीय बजारबाट पूर्वी नाका हुँदै नेपाल आयात हुने मालसामानमा पहिलेको तुलनामा निकै कम भएको कार्यालयले जनाएको छ। यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिंकर, हवाई स्प्रिट, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाइल, मोबिल, मोटरका ब्याट्री, प्लास्टिकका प्याक गर्ने ट्युबलगायत विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट आयात हुने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपर लगायत वस्तु नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन्।

जानकारी तथा लेखहरु