फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि नेपालमा चिनियाँ इन्टरनेट

(GMT+08:00) 2018-01-12 13:59:17

नेपालको इन्टरनेट बजारमा भारतीय एकाधिकार आजदेखि सकिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि व्यवसायिक रुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो। टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ ल्याउने सेतोपाटी अनलाइनले जनाएको छ। चिनियाँ स्थलमार्गबाट रसुवा हुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको थियो। हाल भारतबाटमात्र कनेक्सन ल्याइरहेको टेलिकमले प्रतिस्पर्धी र एउटामात्र देशमाथिको परनिर्भरता अन्त्य गर्नभन्दै कनेक्सन ल्याउने योजना बनाएको थियो। व्यवसायिक सम्झौता हुनुभन्दा पहिले नै परीक्षण भइसकेको स्थलमार्गबाट आजबाट व्यवसायिक रुपमै आउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासगढीसम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ। सोही मार्गबाट इन्टरनेट व्यान्डवीथ अवदेखि नेपाल आउने छ। व्यवसायिकरुपमै व्यान्डवीथ आजदेखि आउने भएपनि ठूलो भोल्युममा भने नल्याउने टेलिकमका अधिकारीहरुले प्रष्ट पार्दै आएका छन्। आवश्यकताअनुसार ल्याउँदै गर्ने उनीहरुको भनाइ छ।

चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ पुग्ने छ। हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ। यसरी चीनबाट इन्टरनेट आएपनि तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन्। उपभोक्तासँग जोडिएका गुणस्तर(स्पीड) र मूल्य हुन् जुन कनेक्सन जहाँबाट आएपनि टेलिकममै निर्भर हुने हुँदा त्यसको प्रभाव भने पर्ने छैन।

टेलिकम स्रोतका अनुसार टेलिकमले हाल खरिद गरिरहेको भन्दा सस्तो मूल्यमा चीनबाट ल्याउने छैन भने अर्कोतिर टेलिकमले हाल पुरानै कनेक्सन दिइरहेको छ। हाल टेलिकमले अन्य अन्तर्राष्ट्रिय नेटर्क सेवाप्रदायकको भन्दा धेरै महंगोमा भारतबाट खरिद गरिरहेको छ। उसले हाल पनि प्रति एमबी महिनाको ३४ डलरभन्दा माथि मूल्यमा खरिद गरिरहेको छ तर निजीले भने १५ डलर हाराहारीमा नेपालमै उपलब्ध गराइरहेको छन्। तर चीनसँग जोडिनुमात्र होइन भारतको एकाधिकार पनि तोडिनुले एकातिर बजार विस्तार भएको छ भने अर्कोतिर यसले कनेक्सन एक्स्पोजर बढाएको छ।

चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिनसक्छ जसले गर्दा भविष्यमा टेलिकमले व्यान्डवीथ खरिदको टेन्डरगर्दा धेरै कम्पनी सहभागी हुनसक्छन्।

जानकारी तथा लेखहरु