फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुटु प्रत्यारोपण गर्न क्याथल्याब सेवा सञ्चालनमा

(GMT+08:00) 2018-01-18 15:02:28

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा ल्याएको छ। मानिसको विभिन्न अङ्गको प्रत्यारोपण गर्ने उद्देश्यका साथ नेपाल सरकारले चार वर्षअघि स्थापना गरेको केन्द्रले मुटुको प्रत्यारोपण सुरु गर्न क्याथल्याब सेवा सञ्चालनमा ल्याएको अस्पतालले जानकारी दिएको गोरखापत्र अनलाइनले लेखेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले हालसम्म म्रिगौला र कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिँदै अब मुटु प्रत्यारोपणको लागि क्याथल्याब अत्यावश्यक हुने भएकाले सञ्चालनमा ल्याउनुपरेको जानकारी दिनुभयो।

केन्द्रले बुधबार भक्तपुर सूर्यविनायकका ३६ वर्षीय अष्टलाल डङ्गोल र भक्तपुर दधिकोटकी ५० वर्षीया विमला न्यौपानेको एनजीओग्राम गरेर क्याथल्याब सेवा सञ्चालनमा ल्याएको हो।

कार्यकारी निर्देशक डा. श्रेष्ठले हाल केन्द्रमा मिर्गौला तथा कलेजो प्रत्यारोपण, नेफ्रोलोजी, युरोलोजी र मुटुरोगको उपचार सेवा सञ्चानलमा ल्याएको जानकारी दिनुभयो। उहाँले क्याथल्याब सेवावाट मुटुको नशा बन्द भए नभएको थाहा पाउन एनजीओग्राफीका साथै हर्टअट्याक भएका बिरामीको बन्द नशा खुलाउन एनजीओप्लास्टी, मुटुको बन्द भएको भल्ब खोल्ने भल्भुलोप्लास्टी र धड्कनसम्बन्धी पेसमेकर सेवा उपलब्ध हुने जानकारी पनि दिनुभयो।

केन्द्रका मुटुरोग विशेषज्ञ डा. कार्तिकेश ठाकुरले क्याथल्याब सेवा सुरु गर्न वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा यादवदेव भट्टको नेतृत्वमा डा. राजीव राजभण्डारी, मुटु शल्य चिकित्सक डा. मोहन देवभण्डारी, डा. सम्पूर्णमान तुलाधर, डा. प्रेमराज वैद्य लागायत व्यक्तिको विशेष योगदान रहेको जानकारी दिनुभयोध्र

श्रेष्ठले सात करोडको लगानीमा सञ्चालन भएको उक्त क्याथल्याब सेवा अत्याधुनिक भएको र यसबाट देशभरिका मुटुका रोगीहरूलाई थप राहत पुग्ने बताउनुभयो। केन्द्रमा मुटु रोग लागेका विपन्न नागरिकका लागि राज्यले उपलब्ध गराउने एक लाख बराबरको सेवा सुविधा उपलब्ध हुनुका सााथै १५ वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकको मुटुको उपचार र मुटुको बाथरोगको निःशुल्क शल्यक्रिया समेत उपलब्ध हुने जानकारी दिनुभयो।

वरिष्ठ मुटु शल्यचिकित्सक डा. यादवदेव भट्टले नेपालमा बढ्दो रूपमा मुटुरोगी बढिरहेको अवस्थामा केन्द्रले क्याथल्याबबाट सेवा सञ्चालनमा ल्याउनु सुखद भएको बताउनुभयो। उहाँले नेपालमा पाँच प्रतिशत मानिसलाई हर्टअट्याक हुनसक्ने भन्दै २० प्रतिशत मानिसमा उच्च रक्तचाप रहेको बताउनुभयो। उच्च रक्तचाप हुने मानिसलाई मुटुरोग लाग्नसक्ने सम्भावना हुन्छ। कार्डियाक सर्जन डा. कार्तियेक ठाकुरले केन्द्रमा आवश्यक जनशक्ति भएदेखि क्याथल्याबलाई दैनिक रूपमा सञ्चालनमा ल्याउन सकिने जानकारी दिनुभयो।

केन्द्रले यसअघि पनि मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो। केन्द्रमा हाल कार्डियोलोजीतर्फ ईसीजी, इकोकाडियोग्राफी, हल्टर, टीएमटीको साथै नेपालमा दुर्लभ मानिने विभिन्न स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। त्यसैगरी मुटु शल्यचिकित्सातर्फ कोरोनरी बाईपास, मुटुको भल्ब फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनली फुलेको, जन्मजात मुटुको रोगलगायत सेवा सञ्चालनमा ल्याएको छ।

जानकारी तथा लेखहरु