फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा धान उत्पादन साढे ५१ टन

(GMT+08:00) 2018-01-18 15:04:53

चालू आर्थिक वर्षमा नेपालमा ५१ लाख ५१ हजार टन धान फलेको छ। गत आर्थिक वर्षमा इतिहासकै अत्यधिक धान उत्पादन भए पनि यस वर्ष भने परिमाण केही घटेको छ। कृषि मन्त्रालयका अनुसार गत वर्ष ५२ लाख ३० हजार टन धान फलेकोमा यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेको कारोबार अनलाइनले लेखेको छ।

धान उत्पादनको प्रमुख क्षेत्र मानिने पूर्वी तराईमा आएको डुबानका कारण धानखेत प्रभावित भए पनि धानको उत्पादकत्वमा वृद्धि भएका कारण समग्र उत्पादनमा न्यून मात्रमा कमी आएको कृषि विकास मन्त्रालयले जनाएको छ। "यो वर्ष बाढी, पहिरो र डुबानका कारण धान उत्पादनमा भारी मात्रामा कमी आउने अनुमान गरिएको थियो तर उत्पादकत्व बढेका कारण उत्पादन धेरै घट्न पाएन," कृषिसचिव डा. सुरोज पोखरेलले भन्नुभयो, "बीउ, मलको समयमै उपलब्धता र समयमा पानी परेकाले पनि धानको उत्पादनकत्वमा वृद्धि भएको हो।" उहाँले रोपाइ कम हुनु, कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुनु र डुबानका क्रममा बालुवाले धान पुरेका क्षेत्रमा उत्पादन घटेका कारण समग्र उत्पादनमा वृद्धि हुन नसकेको बताउनुभयो।

मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धान रोपाइँको क्षेत्र भने ५.३४ प्रतिशतले घटेको तथ्यांक छ भने उत्पादकत्व ४.०६ प्रतिशतले बढेको छ। गत आवमा धानको उत्पादकत्व प्रतिहेक्टर ३ हजार ३ सय ६९ रहेकोमा यो वर्ष उत्पादकत्व ३ हजार ५ सय ६ टन पुगेको छ। मौसमको अनुकुलताका कारण गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष ०७२-७३ को तुलनामा २१.६६ प्रतिशत बढी धान फलेको हो। धान उत्पादनमा १० प्रतिशतले कमी वा वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले वृद्धि वा घटी हुँदै आएको तथ्यांक छ। यस हिसावले गत वर्ष कुल ग्रार्हस्थ्य उत्पादनमा धान उत्पादन वृद्धिका कारण २ प्रतिशत योगदान पुगेको थियो। पछिल्लो २७ वर्षमा धान उत्पादनको दर वार्षिक ४ प्रतिशतले बढ्दो क्रममा रहेको मन्त्रालय वरिष्ठ तथ्यांकविज्ञ रामकृष्ण रेग्मीले बताउनुभयो।

चालू आवमा पनि सवैभन्दा बढी धान साविक पूर्वाञ्चलमा १४ लाख ५४ हजार टन धान फलेको छ। यो उत्पादन गत वर्षको भन्दा ०.७५ प्रतिशतले बढी हो। गत वर्ष धान पहिलो क्षेत्रका रुपमा रहेको साविक मध्यमाञ्चल क्षेत्रको उत्पादनमा भने ७.२३ प्रतिशतले कमी आएको छ। गत वर्ष १४ लाख ९८ हजार टन धान फलेकोमा यो वर्ष १३ लाख ९० हजार टन मात्र फलेको छ। यो वर्ष पश्चिमाञ्चल क्षेत्रमा १० लाख ८८ हजार टन धान फलेको छ भने मध्यपश्चिममा ६ लाख १८ हजार टन धान उत्पादन भएको छ। यी दुवै क्षेत्रको उत्पादनमा गत वर्षभन्दा झिनो वृद्धि भएको हो। सुदुरपश्चिममा ६ लाख टन धान फलेको छ, जुन गत वर्ष भन्दा १.२० प्रतिशतले बढी हो।

नेपालमा धानको उत्पादन ४० लाख टनदेखि ५० लाख टनसम्म रहने गरेकोमा हालसम्म चारवटा आवमा मात्र ५० लाख टनमाथि पुगेको देखिन्छ। मन्त्रालयका अनुसार आव ०७०-७१ मा ५० लाख ४७ हजार टन र ०६८-६९ मा ५० लाख ७२ हजार टन धान फलेको थियो। गत आवबाट भने निरन्तर ५० लाख टनभन्दा माथि देखिएको हो। मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दशकमा सबैभन्दा कम धान उत्पादन आव ०६६-६७ मा ४० लाख २३ हजार टन उत्पादन भएको थियो। धान उत्पादनमा सबैभन्दा बढी वर्षाको प्रभाव रहने प्रवृत्ति रहेकाले मौसम अनुकुल हुँदा धानको उत्पादन बढ्ने र मौसम प्रतिकुल हुँदा घट्ने देखिएको धानविज्ञ भोलामानसिंह वस्नेतको भनाइ छ। धान मुलुकमै प्रमुख खाद्यान्न बालीसमेत हो।

जानकारी तथा लेखहरु