फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेवारिसे शवको आँखाको नानी झिकिँदैन

(GMT+08:00) 2018-01-19 14:05:12

काठमाडौँको पशुपतिमा विद्युतीय शवदाह यन्त्र सञ्चालन भएयता आँखाको नानी सङ्कलनमा सहयोग पुगेको छ। मृतकका आफन्तमा आँखा दानप्रति सचेतना बढेकाले नानी सङ्कलनमा सहयोग पुग्दै आएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल आँखा बैङ्क तिलगङ्गाका प्रबन्धक शङ्खनारायण त्वयनाले विद्युतीय शवदाह क्षेत्रबाट महिनामा सरदर १५ जनाको आँखाको नानी सङ्कलन भइरहेको जानकारी दिनुभयो। विद्युतीय शवदाह प्रयोगमा आउनुभन्दा पहिले नानी सङ्कलन कमै हुन्थ्यो।

विराटनगर आँखा अस्पतालका निर्देशक डा. सन्देश सिंहका अनुसार वर्षमा आठ हजार नानी आवश्यक पर्ने गरेको छ तर देशभर सरदर वार्षिक आठ सयको सङ्ख्यामा नानी प्राप्त भइरहेको छ। गत वर्ष आँखा बैङ्कमा ८१६ नानी प्राप्त भएका थिए। तीमध्ये ७५९ नानी प्रत्यारोपण गरिएको थियो भने बाँकी तालिम र अध्ययनका लागि प्रयोग गरिएका थिए। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान फरेन्सिक विभागमा दुर्घटना, आत्महत्या वा अन्य कारणबाट प्राप्त शवबाट झिकिएका मासिक १५ वटा आँखाका नानी पनि आँखा बैङ्कलाई उपलब्ध गराइने गरिएको छ। आँखा बैङ्कका प्रबन्धक त्वयनाले बेवारिसे शवका आँखाबाट नानी झिक्ने नगरिएको बताउनुभयो। झिकिएका नानी प्रत्यारोपणयोग्य छ छैन भन्ने अनुसन्धानपछि मुलुकका सबै आँखा अस्पतालमा मागअनुसार पठाइने गरेको उहाँले बताउनुभयो।

बेवारिसे शवबाट आँखा झिक्ने पद्धति नभएको पशुपति गुठी गोश्वारा प्रमुख लछुना शर्मा काफ्लेले बताउनुभयो। "पशुपति वृद्धाश्रमबाट पाँच र पशुपति क्षेत्रमा मृत फेला परेका गरी गत वर्ष २२ शव गोश्वाराको खर्चमा दहन गरिए तर यी शवबाट पनि नानी सङ्कलन हुन सके राम्रो हुन्थ्यो," उहाँले भन्नुभयो।

विद्युतीय शवदाह गृहका प्रमुख एवं पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले नानी सङ्कलनलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको तर त्यसमा सरोकार निकाय सबैको समन्वय जरुरी रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु