फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रदेशसभा सदस्यको शपथग्रहण आइतबार हुने

(GMT+08:00) 2018-01-20 14:01:36

नेपालको प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सात प्रदेशका ५५० जना सदस्यको शपथ ग्रहण भोलि आइतबार सम्बन्धित प्रदेशमा हुने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रदेश प्रमुखहरूको शपथ सकिएलगत्तै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई छुट्टाछुट्टै हस्तान्तरण गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। त्यसपछि प्रदेश प्रमुख र आयोगका पदाधिकारीबीच भएको परामर्शमा राष्ट्रियसभा सदस्य निर्वाचनलाई ध्यानमा राखी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आइतबार हुने तय भएको हो।

प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, ''राष्ट्रियसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखी सातै प्रदेशका प्रमुखले आइतबार ११ बजेभित्र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो प्रदेशमा शपथ गराउने समझदारी भएको छ। '' प्रदेश प्रमुखहरूले आफ्नो मतहतको निकायलाई शपथ ग्रहणको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने जानकारी पनि प्रदेश प्रमुख मल्लले बताउनुभयो।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह, नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्रप्रसाद पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव बुद्धिबहादुर खड्का, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललगायत सहभागी हुनुहुन्थ्यो। प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० निर्वाचन क्षेत्रबाट निर्वाचित ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २२० गरी जम्मा ५५० जना प्रदेशसभा सदस्यहरू हुने संवैधानिक व्यवस्था छ। २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा गरी प्रदेशसभाको निर्वाचन सम्पन्न भएको थियो।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (८) र दफा ६२ मा आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था रहेको जानकारी आयोगका सहसचिव नवराज ढकालले दिनुभयो।

राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले प्रदेश प्रमुखहरूको सुरक्षा व्यवस्था, प्रदेश कार्यालय, निजी आवास लगायतका बारेमा जानकारी दिनुभएको थियो। तत्कालका लागि प्रदेश प्रमुखको सहयोगका लागि निजामती सेवाका प्रथम श्रेणीको अधिकृत (सहसचिव स्तर) का कर्मचारी खटाइएको छ।

यसैबीच, निर्वाचन आयोगले शुक्रबार नै समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यहरूलाई आयोगमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान ग¥यो। प्रमुख निर्वाचन आयुक्त डा. यादवले उहाँहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रमुख आयुक्त यादवले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङ र डोटीको शान्ति सुरक्षाको अवस्था सहज नभएकाले नेपाल सरकार र सबै राजनीतिक दलहरूलाई निर्वाचनको अनुकूलको वातावरण निर्माणका लागि अपिल आग्रह गर्नुभयो।

यसैगरी, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेशसभाका सदस्यहरू राष्ट्रियसभाको निर्वाचनका मतदातासमेत हुनुभएकाले आयोगले प्रदान गर्ने मतदान र मतगणनासम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो। आयोगका सचिव एवम् समानुपातिक निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले जनताले आशा, भरोसा र विश्वास गरेर निर्वाचित गर्नुभएकाले त्यसलाई टुट्न दिनु हुने छैन भन्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार नै जारी गर्नुभएको एक प्रेस विज्ञप्तिमा दाङ र डोटीमा असहज वातावरण देखिएकाले नेपाल सरकार, राजनीतिक दल, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, आमसञ्चारकर्मी, नागरिक समुदाय एवम् सबै सरोकारवालासँग निर्वाचनको अनुकूल वातावरण बनाइदिन हार्दिक अपिल गरिएको छ।

सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारू, २९ दलित, ३७ मधेसी र सात जना मुस्लिम उम्मेदवार विजयी हुनुभएको जानकारी दिनुभयो। प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएकामा १३ राजनीतिक दलको मात्रै प्रतिनिधित्व छ। समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित हुनुभएको हो।

यसैगरी, प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ अपाङ्गता भएका चार, अल्पसङ्ख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ। कुल ५५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ। प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैंजू हुनुहुन्छ भने सबैभन्दा बढी उम्मेरका नेपाली काँग्रेसका बलदेश शर्मा ७८ वर्षका हुनुहुन्छ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नम्बर १ बाट ३७, प्रदेश नम्बर २ बाट ४३, प्रदेश नम्बर ३ बाट ४४, प्रदेश नम्बर ४ बाट २४, प्रदेश नम्बर ५ बाट ३५, प्रदेश नम्बर ६ बाट २१ जना उम्मेदवार निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ।

जानकारी तथा लेखहरु