फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड क्षतिपूर्ति

(GMT+08:00) 2018-01-21 15:22:09

पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन्। वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको कारोबार अनलाइनले लेखेको छ।

मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनुपर्ने १० करोड रुपैयाँभन्दा बढी रकम कुवेतस्थित दूतावासले कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाएको छ। कुवेतमा मृत्यु भएका कामदारले कानुनी रूपमा पाउनु पर्ने सेवा सुविधावापतको यो रकम लामो कानुनी प्रक्रियापछि दूतावासले २ चरणमा गरेर नेपाल फिर्ता पठाएको हो। दूतावासले स्थानीय कानुन व्यवसायीको सहयोगमा लामो कानुनी लडाइँपछि मृतक नेपाली कामदारले पाउनु पर्ने क्षतिपूर्तिबापतको विमा रकम, बाकी रहेको तलब, उपदानलगायतका सुविधासहितको १० करोड ५० लाख रुपैयाँभन्दा बढी रकम नेपाल पठाएको जनाएको छ। सो रकम परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ। मृतक कामदारको सेवासुविधा नदिने रोजगारदातासँग कानुनी लडाइँपछि दूतावासले फिर्ता गरेरे हालैमात्र ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयमा जम्मा गरिएको छ। एक वर्षअघि पनि ५ करोड २६ लाख रुपैयाँ पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ।

कुवेतमा मृत्यु भएका कामदारका परिवारले कानुनी प्रक्रिया अघि बढाउन नसक्ने अवस्थामा रहेका ४२ मृतक कामदारकार्फतबाट दूतावासले मुद्दा चलाएपछि २ वर्षमा २ करोड ३२ लाख ४३ हजार ६९४ रुपैयाँ रोजगारदाताले फिर्ता दिएका हुन्। लामो समयदेखि मृतक र अन्य कामदारले पाउन नसकेको क्षतिपूर्ति तथा बाँकी तलब नेपाली राजदूतावास कुवेतले नियुक्त गरेको कानुन व्यवसायीको सहयोगमा रोजगारदाताबाट भराउँदै आएको छ।

सन् २०१६ सम्म ५ करोड ५ लाख ४९ हजार ७ सय ७१ र २०१७ सम्म पाउनुपर्ने ५ करोड २६ लाख ४३ हजार ९८३ रुपैयाँ र २ सय दिरामभन्दा कम पाउने कामदारको एकमुष्ट लगभग २० लाख रुपैयाँ पनि दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको छ। क्षतिपूर्ति पाउनेमध्ये ४ जना महिला छन्।

परराष्ट्र मन्त्रालयमा प्रवक्ता भरतराज पौडेलले रोजगारदाता मुलुकका राजदूतावासले कामदारको नाममा पठाएको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइ तत्कालै वितरण गरिँदै आएको बताउनुभयो। "मृतक कामदारको नाममा आएको क्षतिपूर्ति रकम कानुनी प्रक्रिया पुर्‍याएर मृतकका हकवालालाई दिने गरिएको छ," प्रवक्ता पौडेलले भन्नुभयो, "क्षतिपूर्ति रकम लिन कामदारको परिवारका सदस्य मन्त्रालय आइरहनु पर्दैन।" कुवेत दूतावासले भने कामदारको नाम र प्राप्त भएको रकम नै किटान गरेर परराष्ट्र मन्त्रालयमा पठाउने गरेको छ।

विदेशस्थित नियोगहरूबाट परराष्ट्र मार्फत प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य रकमहरू सम्बन्धित व्यक्ति वा निजका नजिकको कानूनी हकदारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गरीने गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विदेशस्थित नियोगहरूबाट विवरण सहित क्षतिपूर्ति रकम प्राप्त भएको ४ दिन देखि १ हप्ता भित्र नेपाल राष्ट्र बैंकबाट ड्राफ्ट प्राप्त भए पश्चात सम्बन्धित जिल्ला प्रशासन कार्यलयहरूमा पठाउने गरेको छ।

जानकारी तथा लेखहरु