फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपत्यकामा इन्फ्लुएन्जाका बिरामी बढे

(GMT+08:00) 2018-01-21 15:23:40

काठमाडौँ उपत्यकाका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण लिएर आउने बिरामी बढ्न थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, शिक्षण अस्पताललगायतका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण देखापर्ने बिरामी बढ्न थालेका गोरखापत्र अनलाइनले लेखेको छ। हिउँद महिना सुरु भएदेखि गर्र्मी नबढ्दासम्म इन्फ्लुएन्जा भाइरस फैलन सक्ने सम्भावना बढी भएकाले सतर्क रहन पनि चिकित्सकले आग्रह गरेका छन्। मौसमी रुघाखोकीका रूपमा देखिने इन्फ्लुएन्जा भाइरसले सुरुमा श्वासप्रश्वासमा आक्रमण गर्ने गर्दछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले इन्फ्लुएन्जाका बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभयो। अस्पतालमा इन्फ्लुएन्जा लागेका एक जना बिरामी आउने गरेको जानकारी दिँदै उसँंग जानकारी लिँदा घरका अन्य परिवारलाई पनि सामान्य रुघा, खोकी, ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षण रहेको पाइएको उल्लेख गर्नुभयो।

जाडो महिनादेखि गर्मी मौसम सुरु नहँुदासम्म इन्फ्लुएन्जासँग सम्बन्धित बिरामी बढिरहने भन्दै डा. पुनले रुघा, खोकी र ज्वरोलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो। उहाँले इन्फ्लुएन्जा सङ्क्रमित बिरामीसँगको अन्तरक्रियामा ती बिरामीका परिवारका सदस्यमा पनि इन्फ्लुएन्जाका लक्षण देखिएको बताएको जानकारी दिनुभयो।

आफूले उपचार गर्न आएका बिरामीमध्ये अधिकांश एन्फुएन्जाका बिरामी रहेको उल्लेख गर्दै पुनले छ जना बिरामी भने एन्फुएन्जा बी लक्षण भएका बिरामी भेटिएको जानकारी दिनुभयो। उहाँले ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, श्वासप्रश्वासका खासगरी दम वा सीओपीडीका बिरामी, अङ्ग प्रत्यारोपण गरेका वा किड्नी डाइलाइसिस गरिरहेका र बालबालिकाले सामान्य रूपमा नलिन आग्रह गर्नुभयो।

सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले पछिल्लो समय इन्फ्लुएन्जा भाइरसका बिरामी अत्यधिक देखापर्ने भन्दै यसलाई सामान्य रुघाखोकी मात्र भनेर बस्न नहुने बताउनुभयो। इन्फ्लुएन्जाबाट ६० वर्षमाथिका वृद्धवृद्धा, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगी, डायलासिस गराइरहेका बिरामी र अङ्ग प्रत्यारोपण गरेका बिरामीलाई तत्काल समस्या देखापर्न सक्ने भन्दै यस्ता बिरामीले सतर्कता अपनाउन आग्रह गर्नुभयो।

उहाँले इन्फ्लुएन्जाले आफ्नो रूप फेर्न सक्ने भन्दै पछिल्लो समय युवालाई पनि सताउने गरेको बताउनुभयो। डा. बास्तोलाले इन्फ्लुएन्जाले नेपालमा युवाको मृत्यु नभए पनि अस्ट्रेलिया, बेलायतलगायत पश्चिमा मुलुकमा भने इन्फ्लुएन्जाले रूप फेरेकै कारण युवाको मृत्यु भएको जानकारी पनि दिनुभयो।

ग्राण्डी इन्टरनेसनल हस्पिटलका फिजिसियन डा. विनय रेग्मीले ग्राण्डी अस्पताल ओपीडीमा इन्फ्लुएन्जाको लक्षण लिएर आउने बिरामी २० जनामध्ये १२ देखि १५ जनामा इन्फ्लुएन्जा ए देखिएको जानकारी दिनुभयो। उहाँले ग्राण्डी हस्पिटलमा अझै पनि इन्फ्लुएन्जा एचवन ए वनबाट पीडित बिरामी आईसीयूमा उपचार गराइरहेको जानकारी दिँदै चितवनबाट आएका मेडिकल विद्यार्थीलाई भने उपचारपछि डिस्चार्ज गरिएको बताउनुभयो। अस्पतालमा फ्लुको लक्षण लिएर आउने बिरामीले औषधि पसलमा गएर एन्टिबायोटिक औषधि सेवन गर्ने गरेको भन्दै कतिपय अवस्थामा एन्टिबायोटिक सेवन नगरे पनि इन्फ्लुएन्जा ठीक हुने बताउनुभयो।

यता नर्भिक अस्पतालका सञ्चार महाप्रबन्धक आरपी मैनालीले इन्फ्लुएन्जाका बिरामी ३०÷३५ को सङ्ख्यामा आउने गरे पनि पाँच जना जति अस्पतालमै भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु