फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग सुधारमा कम्पनी छनोट गरिँदै

(GMT+08:00) 2018-01-26 13:30:06
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे रिहबिलिटेसन (धावन मार्ग) सुधारमा कम्पनी छनोटको बाटो खुलेको छ। रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच आर्थिक प्रतिस्पर्धाका लागि बाटो खुलेसँगै रन वे मर्मत प्रक्रिया सन् २०१८ भित्रै अगाडि बढ्ने भएको छ।

विमानस्थल कार्यालयले करिब आठ महिना अगाडि नै प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच आर्थिक प्रतिस्पर्धाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डसँग सहमति मागसहित फाइल टेन्डर डकुमेन्टको फाइल पेस गरेको थियो। प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डले केही दिन अगाडि मात्रै अनुमोदन गरेको हो। 'रन वे मर्मतका लागि आएको फाइल लामो समय बोर्ड बस्न नसक्दा रोकिएको थियो', प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले भन्नुभयो, 'फाइल स्वीकृत भएसँगै टेन्डरका लागि हवाई यातायात क्षमता अभिवृद्धि आयोजनासँग छलफल सुरु भइरहेको छ।'

विमानस्थलको रन वे सुधारका लागि आव २०७४/७५ मा सरकारले एक अर्ब रुपैयाँ विनियोजन गरेको छ। विमानस्थलको रन वे सुधार हुननसक्दा विमानस्थल कार्यालयअन्तर्गतको सिभिल इन्जिनियरिङ महाशाखाले रन वे टालटुलकै लागि वार्षिक दुई करोड रुपैयाँ खर्च गर्दै आएको छ।

'टालटुल गरेर सञ्चालनमा ल्याइएको रनवेमा जुनसुकै समयमा जहाज अवतरण गर्दा दुर्घटना हुन सक्छ', महाशाखाका प्रमुख मुरारी भण्डारीले भन्नुभयो, 'हामीले अति संवेदनशील अवस्थामा विमानस्थल सञ्चालन गरिरहेका छौं।'

सन् १९८० मा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन्। महाशाखालाई अहिले विमानस्थल बन्द भएपछि राति १२ देखि बिहान पाँच बजेसम्म रनवेमा देखिने ससाना खाल्डाखुल्डी पुर्न मिलाउन भ्याइनभ्याइ छ। विमानस्थलको रन वे सुधारका लागि आव २०७४/७५ मा सरकारले एक अर्ब रुपैयाँ विनियोजन गरेको छ।

रनवेमा सानो समस्या आएको अवस्थामा २० मिनेट र ठूलो समस्या देखिएको अवस्थामा पौने एक घन्टासम्म आकाशमै जहाज होल्ड गरेर काम गर्नपर्ने अवस्था रहेको उहाँको भनाइ छ। रनवे सुधारका लागि विमानस्थल कार्यालयले विमानस्थल विकास खर्चका नाममा रकम संकलन गरिरहेको थियो। विकास खर्च कोषमै अहिलेसम्म करिब चार अर्ब रकम संकलन भइसकेको छ।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको अन्नपूर्ण पोस्ट अनालाइनले छ।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पारेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी छन्। अब आयोजनाले यी नै चार कम्पनी बीच रन वे सुधारका लागि आर्थिक रूपमा प्रतिस्पर्धा गराउने छ।

जानकारी तथा लेखहरु