फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन कोरलानाकामा पर्ने नेपालतर्फको समथर भूभाग प्रयोगविहीन

(GMT+08:00) 2018-01-28 14:30:48

नेपाल-चीन कोरला फाँट काठमाडौं उपत्यकाजस्तै विशाल समथर जमिनमा फैलिएको भएपनि नेपालले आफ्नो तर्फको यो विशाल फाँट उपयोग गर्ने कुनै योजना अघि सारेको छैन । चीनतर्फको भूभाग भने विभिन्न संरचना निर्माण गरी उपयोग भइरहेको छ।

वरिपरि स–साना हिमालले घेरिएको कोरला फाँट पोखरा र काठमाडौं उपत्यकाको समथर भागभन्दा ठूलो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल जंगलको भाग छाडेर ३ सय हेक्टर छ। तर, कोरलाको समथर भूभाग ३ हजार ५ सय हेक्टरमा फैलिएको छ। यहाँ कुनै अग्ला डाँडा र ठूला हिमाल छैनन् । साना थुम्काजस्ता हिमालले घेरिएको ईकान्तिपुर अनलाइनले लेखेको छ ।

चीनले आफ्नो समथर भूमिमा ठूला भवनहरू, अन्डरग्राउन्ड सडक, बाहिरी सडक, सुरक्षा क्याम्पका विभिन्न संरचना बनाइसकेको छ । तारबार क्षेत्र र सिमानामै चीनका सुरक्षाकर्मीहरू खटिएका हुन्छन् । रातमा चीनतर्फ बिजुलीको झिलिमिली हुन्छ । नेपालतर्फको जमिनमा कुनै संरचना नबनेकाले शून्य देखिन्छ। २०७२ मंसिरमा तत्कालीन सार्वजनिक लेखा समिति सभापति रवीन्द्र अधिकारी कोरला भ्रमणमा आउँदा यो फाँटको उपयोग गर्न सकिने बताएका थिए। त्यसयता सरकारले कोरलाको समथर भूभाग प्रयोग गर्ने कुनै योजना ल्याएको छैन । यसअघिका सरकारले यहाँ राख्ने भनिएका सेनाको ब्यारेक, सशस्त्र प्रहरी क्याम्प (बीओपी) यो फाँटभन्दा तल भिरालो जमिनमा राख्ने निर्णय गरिसकेको छ । सेनाको ब्यारेक २५ किमि तल लोमान्थाङ र सशस्त्रको १४ किमि तल नेचुङ भन्सार कार्यालयसँगै राख्नेगरी लालपुर्जा वितरण गरिसकेको छ ।

भविष्यमा कोरला नाका खुल्यो भने हुनुपर्ने सम्भावित संरचना बन्दरगाह, ठूला गोदाम भन्सार कार्यालयमै राख्ने प्रारम्भिक निर्णय गरिएको छ । तर, कोरलाको विशाल फाँटलाई यी सबै संरचनाका लागि उपयोग गर्न सकिने यहाँका जानकारहरू बताउँछन् ।

प्रदेश सांसद तथा मुस्ताङबाट नेपाल–चीन व्यापार गर्दै आएका इन्द्रधारा विष्टले कोरलाको समथर जमिनमा लाखौं कन्टेनर अट्ने भएकाले दक्षिण एसियाकै ठूलो सुक्खा बन्दरगाह बन्न सक्ने तर्क सुनाउनुभयो । नाका खुल्नुअघि नै यो समथर जमिनको उपयोग गर्नेबारे गम्भीर बन्नुपर्छ । कोरलाको जमिनमा बन्दरगाह र सरकारी कार्यालयहरू राख्न उपयुक्त भएको उहाँको ठहर छ ।

कोरलाको जमिन मुस्ताङको तल्लो भेकभन्दा फरक छ । तलतिर बालुवा मिश्रित सुक्खा जमिन छ । तर, कोरलाको जमिनमा माटो अधिक छ । माटो भएकाले यहाँ प्राकृतिक घाँस उम्रिएर हरियो देखिन्छ । हिउँदमा हिउँपर्ने भएकाले सुक्खा तर निर्मल हावा बहन्छ । जमिनको सतह र यसको नक्साको आकार मिलेको अध्ययनकर्ताको बुझाइ छ । मुस्ताङमै रहेर ३ वर्ष नापीमा काम गरेका र कोरला नाका सिमानामा राख्ने सुरक्षा अड्डाहरूको नापनक्सामा खटिएका नापी अधिकृत खिमलाल गौतम भन्नुहुन्छ 'कोरलाको समथर जमिन प्राकृतिक दृष्टिकोणले मानिस बस्न उपयुक्त जमिन हो ।

नक्सामा पनि कोरला फाँट ३५ वर्ग किमिमा फैलिएको समथर भूभाग उल्लेख रहेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु