फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हवाई सुरक्षाबारे बुझ्न ईयुको टोली फेरि नेपाल आउने

(GMT+08:00) 2018-01-29 14:39:58

विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको युरोपेली युनियन (ईयु)को टोली पुनः नेपाल आउने भएको छ। गत साता ईयु र नेपाली टोलीबीच भएको छलफलमा ईयुको टोलीले पुनः नेपाल आएर अध्ययन गरेपछि मात्रै कालोसूचीबाट हटाउने-नहटाउनेबारे निर्णय लिने जानकारी दिएको कारोबार अनलाइनले लेखेको छ।

ईयुले प्रत्येक ६-६ महिनामा अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपभन्दा बाहिरका दर्जनौं एयरलाइन्स कम्पनीको सूची सार्वजनिक गर्दै आएको छ। सोही अनुसार नेपाललाई पनि विगत ४ वर्षदेखि निरन्तर रूपमा कालोसूचीमा राख्दै आएको छ। जनवरी १९ मा नेपाली टोली छलफलका लागि ब्रसेल्स गएको थियो। "ईयुलाई नेपालको पछिल्लो हवाई सुरक्षामा भएको सुधारका विषय राखेर आएका छौं," नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भन्नुभयो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीबाट नेपाल गत साउनमा बाहिरिएको थियो। आईकाओको सूचीलाई हेरेर ईयुले कालोसूचीमा नेपाललाई ४ वर्ष अगाडि राखेको भए पनि निरन्तरता दिँदै छलफलका लागि बोलाएको थियो। "आईकाओले पठाएका सबै डकुमेन्ट तथा सुझाव ईयुलाई बुझाएका छौं," गौतमले भन्नुभयो। ईयुले ६-६ महिनामा सूची सार्वजनिक गर्ने भएकाले अब नेपालसँगको छलफलपछि हटाउनेमा प्राधिकरण आशावादी रहेको उहाँले बताउनुभयो। ईयुले डिसेम्बर र जुनमा सूची सार्वजनिक गर्दै आएको छ।

गत असार १९ मा आईकाओले औंल्याएका कमजोरी सुधार भए नभएको बारे उडान सुरक्षा अडिट गर्न आईकाओका दुईजना विज्ञ काठमाडौं आएका थिए। उक्त टोलीले नेपालमा भइरहेको वायुयान सञ्चालन र वायुयान मर्मत सम्भार क्षेत्रको अवस्थाबारे अध्ययन तथा सम्परीक्षण गरेको थियो।

आईकाओले कोअर्डिनेटेड भ्यालिडेसन मिसन (आईसीभीएम) भनिएको टोलीले अध्ययनपछि गएको साउनमा नेपालमाथिको 'रातो झन्डा' अर्थात् गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको थियो। त्यसलगत्तै प्राधिकरणले ईयुलाई पत्र लेख्दै कालोसूचीबाट हटाउन आग्रह गरेको थियो। तर गत मंसिर २० मा सार्वजनिक गरेको सूचीमा नेपाललाई हटाएको थिएन। "जुनमा सार्वजनिक सूचीबाट नेपाल हट्नेमा आशावादी छौँ ," गौतमले भन्नुभयो।

नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदको अन्तिम तयारी गरिरहेको छ। निगमले वाईडबडी ३३०–२०० सिरिजको जहाजमार्फत युरोपका मुलुकहरूमा उडान गर्ने लक्ष्य लिएको छ।

ईयुले कालोसूचीबाट नहटाएसम्म निगमले युरोपका कुनै पनि मुलुकमा उडान भर्न पाउने छैन। ईयूको प्रतिबन्धित सूचीबाट नेपालले मुक्ति पाएपछि मात्रै नेपाली एयरलाइन्सका विमान र हेलिकप्टरलाई उनीहरूका मुलुकमा चार्टर उडानका लागि बाटो खुला हुनेछ।

नेपालको हवाई क्षेत्रका बारेमा आईकाओले पहिलो पटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो भने २००१ नेपालमा पहिलो पटक आईकाओले औपचारिक रूपमा अडिट गरेको थियो। त्यतिखेर पनि आईकाओले हवाई सुरक्षाको कुरा उठाएको थियो। पुनः आईकाओले सन् २००४ र २००८ मा पनि आईकाओले अडिट गरेको थियो। ईयुले एओसी दिँदाको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदनसहित नेपालमा सेप्टेम्बर २०१२ देखि सेप्टेम्बर २०१३ को बीचमा धेरै दुर्घटना हुनुलगायत धेरै विषय उठाउँदै नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ।

जानकारी तथा लेखहरु