फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

(GMT+08:00) 2018-01-31 14:52:29
जैविक विविधताले भरिएको नेपालको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ। सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ। सन् २०१३ को बाघ गणनाअनुसार उक्त निकुञ्जमा पाटेबाघको संख्या सात थियो। विगत दुई महिनादेखि शुरु गरिएको पाटेबाघको गणनाअन्तर्गत बाघको गतिविधि, वासस्थानजस्ता ठाउँमा चहलपहल देख्दा बाघको संख्या दोब्बर हुने निकुञ्जका संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो। बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जभित्र १६७ स्थानमा गरी ३०० स्वचालित क्यामेरा जडान गरिएको छ। बाघको वासस्थान पहिचान गर्न निकुञ्जभित्र सात वटा हात्ती तथा कर्मचारीलाई परिचालन गरिएको र ती कर्मचारीको भनाइअनुसार निकुञ्जभित्र पाटेबाघको उपस्थिति राम्रो रहेकाले यसको संख्या दोब्बर हुने अनुमान गरिएको हो। पथलैया–अमलेखगञ्ज–९ किमी सडकखण्डमा सवारी साधन ओहोरदोहोर गर्ने गर्दा बाघको सुरक्षामा चुनौतीसमेत थपिएको छ भने अर्काेतिर पथलैया वरिपरि रहेको उद्योग कलकारखानाबाट निस्कने धुवाँ धुलोका कारण पर्या–पर्यावरणमा नकारात्मक प्रभाव पर्न गई निकुञ्जमाथि थप चुनौती बढ्न गएको बताइएको छ। पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म रहेको आरक्ष तथा निकुञ्ज बाघका लागि उपयुक्त स्थान मानिएको छ। पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार पर्सामा सात, बाकेमा चार, शुक्लाफाँटामा १७, बर्दियामा ५० तथा चितवनमा १२० वटा बाघ रहेको छ। ६२७.२९ वर्गकिलोमिटरमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधता र लोपोन्मुख जनावर चराचुरुङ्गीका लागि प्रख्यात छ।

जानकारी तथा लेखहरु