फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सहयोगमा पर्साका बाढी पीडितलाई राहत वितरण

(GMT+08:00) 2018-02-03 14:14:18

चीनको सहयोगमा पर्साका बाढीपीडितलाई राहत वितरण गरिएको छ। गणतन्त्र चीन सरकारले यूएनडीपी मार्फत पर्साको विन्दवासिनी गाउँपालिका वडा नं २ को १ सय ७७ जना बाढीपिडितहरुलाई राहत वितरण गरिएको अनलाइन खबरले लेखेको छ।

तराई क्षेत्रका बाढी पीडित कार्यक्रम अन्तर्गत वितरण गरिएको राहतमा ४ प्रकारका गैर खाद्य सामाग्री रहेको सुर्योदय युवा क्लबका कार्यक्रम संयोजक दिलिपराज कँडेलले जानकारी दिनुभयो। बाढी पीडित परिवारका लागि आवश्यक पर्ने उनीको पछ्यौरा, कम्बल, प्लाष्टिकको बाल्टिन, मग, खाना पकाउने भाँडा १ सेट, खाना खाने प्लेट, कप, डाडु पन्यु, किटनाशक झुल, धुँवा रहित खाना पकाउने स्टोभ र फिल्टर तथा एक महिनालाई पुग्ने स्वच्छताका सामाग्रीहरु वितरण गरिएको थियो। सामाग्री प्रति परिवकारका लागि झण्डै १५ हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको सुर्योदय युवा क्लबले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदीले राहत वितरणले गाउँका बाढी पीडितहरुको ओठमा मुस्कान ल्याएको बताउनुभयो। पर्सामा कार्यक्रम मार्फत ३ हजार घरधुरी बाढी पीडितलाई राहत वितरण गर्ने लक्ष्य राखिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्राकृतिक प्रकोपका घटनाका पीडितहरुलाई आएर मल्हम लगाउने काम स्वागतयोग्य भएको बताउनुभयो। ' २० औं लाखको क्षति भएको हुन्छ, धन जन मरेका हुन्छन्। त्यो सबैको क्षतिपूर्ति गर्न कठिन हुन्छ।' उहाँले भन्नुभयो 'राहतले आहतमा परेकाहरुलाई मल्हम लगाउने काम मात्रै गर्छ।'

बाढीबाट अति प्रभावित तराईका ७ जिल्लाका ३१ हजार ८ सय जना बाढी पीडितलाई राहत वितरण गर्ने लक्ष्य राखिएको परियोजनाका राष्ट्रिय सल्लाहाकार डा शैलेन्द्र थकालीले जानकारी दिनुभयो। 'कार्यक्रमले शुरुमा २४ हजार बाढी प्रभावितलाई सहयोग गर्ने लक्ष्य राखेको थियो तर स्पटमा आउँदा बाढी पीडितको संख्या अझै बढी देखियो।' उहाँले भन्नुभयो ' तीन महिनाको कार्यक्रम हो, अढाई महिना वितिसकेको छ। लगभग धेरै ठाउँमा वितरण भइसकेको छ। कतै राहत वितरण भईरहेको छ।'

तराईका प्रदेश नं २ को बारा र सिराहा बाहेकका ६ जिल्ला र प्रदेश नं १ को सुनसरीका बाढी पीडितलाई राहत वितरण गरिने परियोजनाका अधिकृतहरुले बताएका छन्। गत साउनमा आएको बाढीले तराईका ३५ जिल्लामा १६० जनाको मृत्यु भएको थियो। झण्डै ८० प्रतिशत भूभाग डुवानमा परेको तराईको दक्षिणी भागमा बढी क्षति पुगेको थियो। बाढीले ४३ हजार भन्दा बढी घरहरु ध्वस्त पारेको र २१ हजार नागरिक बाढीबाट विस्थापित भएको तथ्याङक छ।

जानकारी तथा लेखहरु