फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ दूताबासद्वारा चिनियाँलाई भिसा सहज बनाउन नेपालको गृह मन्त्रालयसँग आग्रह

(GMT+08:00) 2018-02-15 16:06:29

काठमाडौँस्थित चिनियाँ दूतावासले नयाँ वर्षको अवसरमा हजारौं संख्यामा चिनियाँ पर्यटक बिदा मनाउन आउने भएकाले प्रवेशाज्ञा (भिसा) प्रक्रिया सहज बनाइदिन नेपालको गृह मन्त्रालयलाई आग्रह गरेको छ। नयाँ वर्षको अवसर पारेर हजारौँ चिनियाँ नागरिक छुट्टी मनाउन नेपाल आउने भएकाले अध्यागमन प्रक्रिया सहज बनाइदिन चिनियाँ दूतावासले दआग्रह गरेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

पत्रमा संख्या उल्लेख नगरे पनि नयाँ वर्ष मनाउन एक सातामा झन्डै ३५ हजार चिनियाँले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ। अध्यागमन विभागले समेत विमानस्थलस्थित अध्यागमन कार्यालयलाई दूतावासको पत्रबारे जानकारी गराइसकेको छ। चिनियाँहरूको शुक्रबारबाट नयाँ वर्ष सुरु हुन्छ। चिनियाँले आगामी वर्षलाई कुकुर वर्षका रूपमा मनाउँदै छ।

चीन सरकारले नयाँ वर्षको अवसरमा एक साता सार्वजनिक बिदा दिने गरेको छ। नयाँ वर्षको बिदामा हजारांै चिनियाँ पर्यटक नेपाल आउने भएकाले पनि चिनियाँ दूतावासले प्रवेशाज्ञा (भिसा) सहजीकरणका लागि नेपाल सरकारलाई आग्रह गरेको हो। दूतावासले नयाँ वर्ष मनाउन माघ २८ देखि फागुन १२ सम्म हजारौं संख्यामा चिनियाँ पर्यटक आउने भएकाले उनीहरूलाई अध्यागमन प्रक्रिया सहज गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको हो।

दूतावासले गृह मन्त्रालयमार्फत विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पत्र लेखी चिनियाँ पर्यटकका लागि छुट्टै डेस्क थप्नसमेत आग्रह गरेको छ। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले चिनियाँ पर्यटकलाई लक्ष्य गरी थप डेस्क स्थापना गरिएको बताउनुभयो। थपलियाले भन्नुभयो, 'नयाँ वर्ष मनाउन आउने चिनियाँ पर्यटकको संख्यामा वृद्धि हुन सक्ने भएकाले भिसा प्रक्रिया थप सहज र छरितो बनाएका छौँ।'

चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन्। विमानस्थल अध्यागमनले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन (अराइभल) भिसा दिँदै आएको छ। थप भिसा आवश्यक परे उनीहरूले अध्यागमन विभागबाट भिसा लिन्छन्। चिनियाँले नयाँ वर्ष मनाउन आउने उद्देश्यले काठमाडौं पोखरा, लुम्बिनीलगायत स्थानमा झन्डै दुई महिनादेखि होटल बुकिङ गराएका छन्। होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले नियमित आउने संख्याको भन्दा झन्डै दोब्बर संख्यामा होटल बुक गराएको बताउनुभयो।

तातोपानी नाका पूर्णरूपमा बन्द भएकाले त्यहाँबाट पर्यटकको आवागमन हुँदैन। भौगोलिक हिसाबले कठिन भएकाले रसुवा नाकाबाट पनि थोरै संख्यामा मात्र चिनियाँ पर्यटक भित्रिने गरेका छन्। 'चीनबाट नेपाल आउने पर्यटकले भनेको बेलामा हवाई टिकटसमेत पाउँदैनन्, जहाजको टिकट महँगो पनि छ,' हानका महासचिव शाहले भन्नुभयो, पूर्वाधार राम्रो हुने हो भने लाखौं संख्यामा चिनियाँ पर्यटक भित्रयाउन सकिन्छ।'

जानकारी तथा लेखहरु