फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अबको चार महिनाभित्र अहिलेसम्मकै ठूलो बैंक स्थापना हुने

(GMT+08:00) 2018-03-06 16:18:48

नेपालमा अबको चार महिनाभित्र हालसम्मको ठूलो बैंक स्थापना हुने भएको छ। देशमा ठूला आयोजनामा लगानी गर्न 'नेपाल पूर्वाधार विकास बैंक' चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो। मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो।

बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइ सकिएको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिनुभयो।

करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाइएको छ। राष्ट्र बैंकले भने पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिनै अझै ६ महिना लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताउनुभयो। ठूला आयोजनामा लगानी गर्न ठूला बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो स्थापना अवधारणा अघि बढेको हो। गएको आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो। चालु आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता गरेको थियो। सोहीअनुसार बैंक स्थापना हुने राष्ट्र बैंकले जनाएको छ।

सार्वजनिक निजी-साझेदारी (पीपीपी)मोडलमा खुल्ने पूर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत सेयर रहने नेपाल पूर्वाधार विकास बैंकका अध्यक्ष डा.विमल कोइरालाले बताउनुभयो। बैंकमा ५० प्रतिशत सेयरमा संस्थागत र निजी लगानी रहने अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

बैंकमा विदेशी लगानी राख्न सकिने व्यवस्था भए पनि हालसम्म नआएकाले नेपालीकै लगानीमा बैंक स्थापना गर्न लागिएको डा.कोइरालाले बताउनुभयो।

नेपाल राष्ट्र बैंकले ८५ प्रतिशतसम्म विदेशीले लगानी गर्न पाउने व्यवस्थासहित गत साउनमा 'पूर्वाधार विकास बैंकसम्बन्धी नीतिगत व्यवस्था गरेको छ। स्वदेशी तथा विदेशी दुवैको लगानीको पूर्वाधार बैंक स्थापना हुन सक्ने व्यवस्था गरिएको छ। पूर्वाधार विकास बैंकको मुख्य उद्देश्य ठूला पुल, सडक, जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्ने रहेको छ।

विदेशी साझेदारीमा पूर्वाधार विकास बैंक स्थापना गर्ने भएमा कम्तीमा ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म विदेशी लगानीकर्ताको सेयर रहने व्यवस्था गरिएको छ।

गैरआवासीय नेपाली नागरिकले बैंकमा लगानी गर्ने रकम वैधानिक तरिकाले कुनै बैंक वा वित्तीय संस्थामार्फत विप्रेषणको माध्यमबाट नेपाल भित्रिएको हुनुपर्नेछ। गैरआवसीय नेपाली नागरिकले संस्थापक वा हक हस्तान्तरणको माध्यमबाट संस्थापक सेयरमा लगानी गर्ने भएमा स्थानीय कर कार्यालयबाट प्राप्त गरेको कर चुक्ता प्रमाणपत्र वा पछिल्लो आर्थिक वर्षको कर दाखिला गरेको निस्सा वा नेपालमा करयोग्य आय भएको व्यहोरा प्रमाणित हुने कागजात पेस गर्नुपर्नेछ।

बैंकमा विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानी रहनेछ।

जानकारी तथा लेखहरु