फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव

(GMT+08:00) 2018-03-10 13:58:20

गृह मन्त्रालयले सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृहले हाल दिइँदै आएको बिदामा २१ दिन कटौती गर्न प्रस्ताव गरेको छ।

सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ। गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा दिने गरी सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरेको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासा अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो।

गृह मन्त्रालय आन्तरिक व्यवस्थापन शाखाका प्रमुख उपसचिव यदुनाथ पौडेलले हालको बिदामा पुनर्विचार गर्न जरुरी देखिएकाले सोहीअनुसार गृहकार्य गरिएको बताउनुभयो। 'बिदा धेरै भएकाले सार्वजनिक सेवा प्रवाह कमजोर हुन पुगेको गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न बिदा कटौती सम्बन्धमा छलफल थालेक हौं', उपसचिव पौडेलले भन्नुभयो।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बिदा धेरै हुँदा विकास निर्माण र सेवा प्रवाहका कार्य प्रभावकारी हुन नसकेकाले बिदा कटौती अत्यावश्यक रहेको बताउनुभयो।

मन्त्री पण्डितले सिंगापुरमा वर्षमा ८ दिन मात्रै सार्वजनिक बिदा हुने गरेको सन्दर्भ उल्लेख गर्दै बढी बिदा दिनु सरकारीस्तरमा काम चोर संस्कृति मौलाउनु भएको दाबी गर्नुभयो।

हाल एक वर्षमा ५२ दिन शनिबारको बिदा हुँदै आएको छ भने बाँकी ५३ दिन विभिन्न चाड तथा दिवसको अवसरमा बिदा हुने गरेको छ। अब भने गृहले चाडबाड र दिवसका अवसरमा दिँदै आएको ५३ दिनको सार्वजनिक बिदालाई घटाएर ३२ दिनमा सीमित गर्ने प्रस्ताव गरेको छ।

बिदा कटौतीसम्बन्धी प्रस्ताव तयार भइसकेको र अब छिट्टै मन्त्रिपरिषद्मा पेस गरिनेछ। ०६२÷६३ को दोस्रो जनआन्दोलनपछि बनेका सरकारले अस्वाभाविक रूपमा सार्वजनिक बिदा दिने क्रम बढाएका हुन्। मन्त्रालयले अहिले कटौती गर्न लागेका अधिकांश सार्वजनिक बिदामा जात विशेषका चाडका अवसरमा दिइने बिदा छन्। जात विशेषका आधारमा दिइने बिदालाई देशभरिमै सार्वजनिक बिदा नदिएर जुन जातको चाड हो ती जात विशेषलाई मात्रै कार्यालयमा आउन नपर्ने गरी बिदा दिइने गरी प्रस्ताव तयार पारिएको छ।

गृहले यसअघि पनि औचित्य र आवश्यकताका आधारमा वैज्ञानिक विधि प्रयोग गरी सार्वजनिक बिदा निर्धारण गर्न भन्दै विभिन्न कार्यदल गठन गरी काम गर्दै आएको थियो तर ती कार्यदलले विभिन्न समयमा बिदा घटाउन दिएका सुझाव मन्त्रालयमै डम्प गरेर राखिँदै आइएको छ। 'अहिले अनावश्यक रूपमा सार्वजनिक बिदा दिइएको छ, जसले गर्दा सार्वजनिक सेवा प्रवाहमै गम्भीर असर परेकाले यसलाई सरकारले कटौती गर्दै राम्रो सन्देश दिन सक्नुपर्छ', गृहका एक अधिकारीले भने।

सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृहले हाल दिइँदै आएको बिदामा २१ दिन कटौती गर्न प्रस्ताव गरेको छ।

जानकारी तथा लेखहरु