फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति चुनावमा दुई रङका मतपत्र

(GMT+08:00) 2018-03-12 15:03:14
नेपालमा राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्नुहुने भएको छ। फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नै पुर्‍याइसकिएको गोरखापत्र अनलाइनले लेखेको छ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय–संसद्को भवन परिसरमा भोलि मङ्गलबार बिहान १० देखि ३ बजेसम्म राष्ट्रपति पदका लागि मतदान हुँदैछ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो।

सङ्घीय संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्यलाई मताधिकार प्राप्त छ। उहाँहरूले हरियो मतपत्रमा मतदान गर्नुहुनेछ।

सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकार प्राप्त छ। उहाँहरूले रातो रङको मतपत्रमा मत सङ्केत गर्नुहुने आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिनुभयो। सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ। आयोगका अनुसार मतगणना भएको तीनदेखि चार घन्टाभित्रै मतपरिणाम सार्वजनिक हुनेछ। केन्द्र र प्रदेशका सदस्यले अलगअलग मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले देशको सबैभन्दा उच्चपदस्थ पद राष्ट्रपतिको निर्वाचन भएकाले त्रुटिरहित तवरले सम्पन्न गर्न सबै राजनीतिक दलसँग सहयोगका लागि आग्रह गर्नुभएको छ।

जानकारी तथा लेखहरु