फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन सीमा बैठक: प्रवेशाज्ञा लागू गर्न माग

(GMT+08:00) 2018-03-12 15:03:14

नेपाली पक्षले रसुवाबाहेकका अन्य जिल्लाका बासिन्दालाई चीनको केरुङसम्म जानका लागि एकदिने पासको व्यवस्था लागू गर्न चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ। नेपाल र चीनका सीमावर्ती जिल्लाका अधिकारीका बीचमा शनिबार केरुङमा भएको बैठकमा उक्त माग गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

चिनियाँ अधिकारीले यस्तो व्यवस्था लागू गर्न पहल गरिने र केन्द्रीय स्तरबाट सहमति भएमा एकदिने पास लागू गर्न सकिने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो। एकदिने पासको व्यवस्था नहुँदा रसुवा जिल्लाभन्दा बाहिरकालाई व्यापार गर्न सास्ती भएको छ। गाडी चालकसमेत त्यहाँ जान सकिरहेका छैनन्।

व्यापारी उत्तम गौतमले पासको व्यबस्था नहुदा केरुङसम्म जान नसकेको गुनासो गर्नुभयो। 'रसुवा जिल्लाभन्दा बाहिरका व्यापारी र चालकलाई केरुङसम्म जाने पहुँच छैन। त्यहाँ सामान कस्तो अवस्थामा राखिएको छ, थाहा नै हुँदैन। त्यहाँ जान खुकुलो व्यवस्था भए व्यापार–व्यवसायले गति लिनेछ,' उहाँले भन्नुभयो।

रसुवाका सुरक्षा अधिकारी र चीनको चिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारीका बीचमा बैठक भएको थियो। बैठकमा चिलोङ काउन्टीका सुरक्षा अधिकारी कर्णेल काओ हुइहाइ र भन्सार, क्वारेन्टाइन तथा अध्यागमनका अधिकारीलगायतको सहभागिता थियो।

दुवै पक्षका बीच सीमा नाकाबाट हुन सक्ने मानव बेचबिखन, अवैध लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंग तथा जडीबुटी निकासी र सुन तस्करीजस्ता अवैध गतिविधि हुन नदिन सुरक्षा गस्ती बढाउने सहमतिसमेत भएको छ। दुवै देशले एक अर्को राष्ट्रका विरुद्धआआफ्नो भूभागमा कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै उच्च सुरक्षा सतर्कता अपनाउने जनाएका छन्। 'यस्ता गतिविधि हुन नदिन समयमै सुचना आदानप्रदान गर्ने सहमति भएको छ,' प्रजिअ न्यौपानेले बताउनुभयो।

बैठकमा दुवै देशका स्थानीय प्रशासन, भन्सार, अध्यागमन तथा सुरक्षा निकायबीच समय समयमा बैठक बसी दुवै पक्षको समन्वयलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ। प्रजिअ न्यौपानेले बैठकमा सीमा नाकाकोसुरक्षा व्यवस्था कडा पार्न तथाआवतजावतलाई झन् सुदृढ बनाउन आवश्यक पर्ने उपकरण सहयोग गर्न चिनियाँ पक्ष इच्छुक रहेको बताउनुभयो।

त्यस्ता सामग्री ल्याउन थप छलफल गरी प्रस्ताव पठाउन चिनियाँ पक्षले आग्रह गरेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, 'रसुवागढी नाकामा भएको अध्यागमन, भन्सार, क्वारेन्टाइन (निकासी र पैठारी) को समस्या र समाधानका विषयमा पनि छलफल भएको छ।' उहाँले रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि भौतिक अवस्था नाजुक भएकाले सामान जाँचका कुनै पनि उपकरण नहुँदा समस्या बल्झिरहेको बताउनुभयो। भन्सारमा भेहिकल एक्सरे, मेटल डिटेक्टर र सीसी क्यामेरालगायत उपकरण जडान नहँुदा छामछुमका भरमा सुरक्षा जाँच गर्नुपर्ने बाध्यता छ।

जानकारी तथा लेखहरु