फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नगरपालिकाद्वारा धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता !

(GMT+08:00) 2018-03-13 16:22:45

नेपालमा 'दुईमात्र सन्तान, ईश्वरको बरदान' भन्ने मान्यता स्थापित छ। राज्यले यसैअनुसार नीति तथा कार्यक्रम लागू गर्दै आएको पनि छ। तर, पूर्वी नेपालको इलाम नगरपालिका भने जनसंख्या बढाउन प्रोत्साहन भत्तासहित अगाडि बढेको छ। नगरपालिकाको जनसंख्या वृद्धिको उद्देश्य उपमहानगरपालिकामा स्तरोन्नति गर्नु रहेको कारोबार अनलाइनले लेखेको छ।

नगरपालिकाले धेरै सन्तान उत्पादन गर्दा सुत्केरीलाई पोषण प्रोत्साहन भत्ता धेरै दिने नीति नै सार्वजनिक गरेको छ। आगामी २० वर्षभित्र उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित नगरको जनसंख्या बढाउन धेरै सन्तान उत्पादन गर्दा सुत्केरीलाई पोषण भत्ता नीति अघि सारेको हो। नगर कार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण भत्ताको सुविधामा परिमार्जन गरेको जनाइएको छ।

नगरपालिकाभित्र दोस्रोपटक बच्चा जन्माउनेलाई २ हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई ३ हजार, चौथो बच्चा जन्माउनेलाई ४ हजार र पाँचौपटक वा सोभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण सुविधा दिने निर्णय गरेको छ। नगरपालिकाले पारित गरेको 'इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावली'मा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाहरूले जतिपटक बच्चा जन्माए पनि पाउने सुविधामा कुनै कटौती नगरिने भएको छ।

सरकारले दुई पटकसम्म बच्चा जन्माउने महिला कर्मचारी, शिक्षिकाहरूलाई सरकारी सेवा सुविधा दिने नियम लागू गर्दै आएको छ। मेयर महेश बस्नेतले इलाम नगरबाट अन्यत्र जाने क्रम बढ्दै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकोले जनसंख्या वृद्धि गर्न नगरपालिका लागिपरेको बताए। उनले जनसंख्या समस्या नभइ स्रोत भएको उल्लेख गर्दै यसलाई परिचालन गर्न सक्नुपर्नेमा जोड दिए।

धेरै जनसंख्या भएमा नगरको व्यापारिक, सामाजिक र सांस्कृतिक गतिविधि बढ्ने र यसलाई परिचालन गरी नगरमा विभिन्न सेवासुविधा थप्न सकिने मेयर बस्नेतको भनाइ छ। राज्य पुनर्संरचनामा गइसकेपछि गाउँगाउँमा सिंहदरवार पुगेको छ। स्थानीय तह गठनपछि नगरपालिका र गाउँपालिकालाई स्थानीय सरकारकै रूपमा हेरिएको छ। नगरपालिका तथा गाउँपालिकाहरूले यसरी आ–आफ्नै व्याख्याअनुसार निर्णय गर्दै आएका छन्।

इलाम नगरपालिकाको यो निर्णयको भने मिश्रित टिप्पणी हुन थालेको छ। अहिले पनि नगरपालिकामा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारको राम्रो विकास भएको छैन। यस्तो अवस्थामा नगरमा जनसङ्ख्या बृद्धि गरिनु आफैँमा लज्जास्पद निर्णय भएको स्थानीयको भनाइ छ। सरकारले यसअघि जनसङ्ख्या वृद्धिदर घटाउन बिभिन्न उपाय अपनाउँदै धेरै लगानी गरेको छ। तर, सरकारी नीतिविपरित नगरपालिकाको निर्णयले स्थानीय अचम्भित छन्।

जानकारी तथा लेखहरु