फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको गौतम बुद्व अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ देखि संचालनमा आउने

(GMT+08:00) 2018-03-14 14:01:15

नेपालको भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा जारी छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको विमानस्थल आयोजनाले सन् २०१९ साललाई अपरेसन वर्षका रूपमा लिएर तीव्र रूपमा काम जारी रहेको जानकारी दिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। विगतमा काम सुस्त गतिमा भए पनि हाल त्यसलाई तीव्र पारिएको उसको भनाइ छ।

त्यसैले सन् २०१९ साललाई अपरेसन वर्षका रूपमा लिएर काम तीव्र पारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना निर्देशक एवं प्रमुख ओम शर्माले बताउनुभयो। 'हामीले सन् २०१९ लाई अपरेसन वर्षका रूपमा लिएका छौँ', उहाँले भन्नुभयो, 'यही किमिले काम जारी रहेमा सन् २०१९ सम्म विमानस्थल सञ्चालनमा आउँछ।' जुन हिसाबले ठेकेदारले काम अगाडि बढाएको छ, त्यस हिसाबले समयमा काम सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाइ छ।

विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र नेपाली सहठेकेदारबीच विवादका कारण विमानस्थलको निर्माण कार्य निकै प्रभावित भएको थियो। त्यसपछि चिनियाँ कम्पनीले व्यवस्थापन परिवर्तन गरेर निर्माण थालेपछि हालसम्म ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको प्रमुख शर्माले बताउनुभयो। जेठसम्म विमानस्थलको मुख्य संरचना अन्तर्राष्ट्रिय टर्मिनल भवनमा छाना हाल्नुभन्दा अघिको र धावनमार्गमा पिच गर्नुबाहेक सबै काम सम्पन्न हुने उहाँको भनाइ छ। विमानस्थलमा धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रेस्क्यू एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, ओभरहेड ट्यांकीलगायत कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो।

भैरहवा विमानस्थलमा लगानी गर्ने वा नगर्ने विषयमा एक हप्तामा एसियाली विकास बैंक (एडीबी)को टोली विमानस्थलको स्थगलत अध्ययन गर्न आउने तयारीमा छ। आयोजनाको निमन्त्रणमा विमानस्थलको स्थगलत अध्ययनका लागि आगामी मार्च २० तारिखमा एडीबीको टोली आउने प्रमुख शर्माले जानकारी दिनुभयो। गत जनवरीदेखि एडीबीले रकम निकासामा रोक लगाएको छ। स्थलगत अध्ययन गरेपछि एडीबीले विमानस्थलमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

'विमानस्थलको निर्माण कार्यबाट एडीबी असुन्तुष्ट देखिएका कारण उसको वार्षिक समीक्षा बैठकमा मैले विमानस्थलको स्थलगत अध्ययनका लागि एडीबीलाई निमन्त्रणमा दिएको हुँ', शर्माले भन्नुभयो, 'एडीबीको टोली आउँदै छ। टोलीले यहाँको काम हेरेर अध्ययन गरेपछि एडीबी सहकार्य गर्नबाट पछि नहट्नेमा हामी विश्वस्त छौँ।'

विमानस्थलमा लगानीका लागि सरकार र एडीबीबीच सन् २०१९ जुनसम्मका लागि ऋण सम्झौताको अवधि छ। निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एडीबीको कालोसूचीमा रहेको र मधेस आन्दोलनका कारण थप म्याद पाएको ६ महिनामा पनि सन्तोषजनक काम नगरेपछि एडीबी असुन्तुष्ट भएको हो। 'अरू केही होइन', प्रमुख शर्माले भन्नुभयो, 'अरू विषयमा एडीबी सकारात्मक छ।'

६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया" लगानीमा निर्माणाधीन विमानस्थलमा एडीबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो।६ अर्ब २२ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको विमानस्थलमा करिब एक अर्ब ५० करोड एडीबीले भुक्तानी गरिसकेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।

आयोजनाले विमानस्थलका लागि अधिग्रहण गरेको जग्गामध्ये आठ सय जग्गा/घरधनीलाई मुआब्जा वितरण गरिसकेको बताएको छ। करिब दुई हजार दुई सय जनाको सात सय १५ बिघा जग्गा अधिग्रहण गरेको आयोजनाले कुल २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा ६ अर्ब वितरण गरिसकेको छ। चालू आवमा विनियोजित बजेट सकिएका कारण मुआब्जा वितरण रोकिएको र मुआब्जा प्राप्त गर्ने अन्य प्रक्रियाका काम जारी रहेको प्रमुख शर्माले बताउनुभयो।

'मुआब्जाका लागि यस वर्षको विनियोजित बजेट सकिएको छ', उहाँले भन्नुभयो, 'हामीले मन्त्रालयमा जानकारी गराइसकेका छौँ। केही समयमा बजेट आएपछि हामी पुनः वितरण गर्न सुरु गर्छौं।' यो विमानस्थल 'फोर ई' स्तरको हो, जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्। तराईको 'लोकेसन' भएको हुँदा कहिलेकाहीँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने विमान पनि यहाँ अवतरण गराउन सकिनेछ।

यसलाई त्रिभुवन विमानस्थल (टीआईए)को विकल्पका रूपमा हेरिएको छ। यो विमानस्थल समयमा सञ्चालन नहुँदा टीआईएको रनवे रिह्याबिलिटेसन (पिच परिवर्तन)को योजना अलपत्र परेको छ। अहिले एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा विभिन्न समयमा समस्या उत्पन्न हुँदै आएको छ। यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने छ। दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले ह्यान्डल गर्ने लक्ष्य राखिएको छ। तर सुरुमा भने ५/६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जानकारी दिएको छ।

२०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया"मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो।

तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुलाई महिना सम्म निर्माणकार्यको लक्ष्य पाएको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सुरु भएको हो।

जानकारी तथा लेखहरु