फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युतमा आन्तरिक उत्पादन थपिँदै

(GMT+08:00) 2018-03-14 14:21:29
संखुवासभाको धर्मदेवी र मादी नगरपालिकामा निजी क्षेत्रबाट १४ दशमलव ९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ। मायाखोला हाइड्रो पावर कम्पनी लिमिटेडले २ अर्ब ५० करोडको लागतमा विद्युत् उत्पादन गर्ने गरी काम थालेको कान्तिपुर अनलाइनले लेखेको छ।

यो आयोजना सरकारले पहिचान गरी नेपालको लोडसेडिङको चाँडो अन्त्य गर्न देशभरबाट छानिएका सुपर सिक्स आयोजनामध्ये एक हो। ०७६ पुसबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरिएको आयोजना अध्यक्ष विजयमान शेरचनले बताउनुभयो।

अबको १४ महिनाभित्र आयोजनाको काम सम्पन्न हुने दाबी उहाँले गर्नुभयो। यो आयोजना ट्रिपल पी मोडलमा निर्माण हुने उहाँले जनाउनुभयो। सुरुङ मार्गको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिल्यान्यास गर्नुभयो। आयोजनाको पावर हाउस धर्मदेवी नगरपालिका ४ को पिलुवास्थित रिट्ठा बगरमा रहनेछ।

आयोजनाले सडकको ट्रयाक खोल्ने काम सकेको छ। २ हजार २ सय ४ मिटर लामो टनेलमार्फत पानी ल्याएर ९ सय ४९ मिटर पेनस्टक पाइपमार्फत टर्बाइनमा पानी पुर्‍याइनेछ। आयोजनाको पाइप लाइनको नेट हेड ४ सय १२ मिटर रहनेछ। पाइप लाइन बिछयाएपछि मुहान र टर्बाइन रहेको विन्दुबीचको भर्टिकल दूरीलाई हेड भनिन्छ। जति हेड बढी भयो त्यति धेरै पानीको बहाव हुन्छ। विद्युत् उत्पादनका लागि ७ दशमलव ४ मेगावाटका २ वटा जेनेरेटरको प्रयोग गरिने आयोजनाले जनाएको छ। आयोजनामा प्रवद्र्धकको ७५ करोड रुपैयाँ (३० प्रतिशत) र बैंक ऋणबाट १ अर्ब ७५ करोड रुपैयाँ (७० प्रतिशत) खर्चिनेछ।

जिल्लामा अहिले ११ दशमलव ८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ। सभाखोलाबाट ४ दशमलव ४, हेवाा खोलाबाट ३ दशमलव २, पिलुवा १ बाट ३, लोअर पिलुवाबाट १ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। त्यस्तै निगुरे पावर हाउसबाट २ सय ५० किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ। हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरणका प्रमुख ध्रुव अधिकारीले बताउनुभयो। उहाँका अनुसार यो जिल्लामा दसभन्दा बढी साना खोलाहरूबाट 'माइक्रो हाइड्रो' सञ्चालन गरी स्थानीयले विद्युत् सेवा लिइरहेका छन्।

विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ। विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार साँझको समयमा ४ मेगावाट खपत भइरहेको छ। दिउँसो २ मेगावाट मात्र खपत हुन्छ। जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको अधिकारीले बताउनुभयो। यहाँ उत्पादित विद्युत् पिलुवा सबस्टेसनबाट धनकुटा, धरान हुँदै दुहबी केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ।

जानकारी तथा लेखहरु