फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई क्रिकेट खेलमा वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त

(GMT+08:00) 2018-03-16 14:28:18
नेपाल पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त राष्ट्र बनेको छ। जिम्बावेमा भइरहेको विश्वकप छनोटमा पाएको सफलताले एकदिवसीय क्रिकेटमा नेपालले आधिकारिक मान्यता पाएको कान्तिपुर अनलाइनले लेखेको छ। योसँगै प्रथम श्रेणी क्रिकेटको मान्यता पाएको अन्तरमहादेशीय कपमा पनि नेपालले अबका चार वर्ष प्रतिस्पर्धा गर्न पाउनेछ।

बिहीबार हरारेमा भएको प्ले–अफ खेलमा वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नैपथ्र्यो। त्यसबाहेक हङकङ प्ले–अफको अर्को खेलमा नेदरल्यान्ड्ससँग पराजित हुनुपथ्र्यो। दुवै खेलमा अनुकूल नतिजा प्राप्त भएपछि नेपालले विश्व क्रिकेटमा छलाङ मारेको हो।

'हामी निकै खुसी छौं, यो खुसीको सीमा छैन। बच्चादेखि देखेको एउटा सपना आज पूरा भएको छ,' जिम्बावेबाट नेपालका कप्तान पारस खड्काले भन्नुभयो, 'जहिल्यै पनि नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्‍याउन चाहन्थ्यौं, त्यसमा हामी फेरि एकपटक सफल भएका छौं। सबैको मिहिनेत र समर्पणले अहिलेसम्मकै ठूलो सफलता प्राप्त भएको हो। खेलाडीहरू सबै बसेर खुसी बाँडिरहेका छौं।'

समीकरण यस्तो थियो कि पपुवा न्यु गिनीसँगको खेलमा पराजित भएको भए नेपाल रेलिगेसनमा परेर डिभिजन २ मा झर्ने थियो। अझ यसअघिका तीन खेलमा पपुवा न्यु गिनीले नेपाललाई पराजित गर्दै आएको थियो। नेपालले टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी नेपाली स्पिनरका सामु अडिन सकेन। लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४/४ विकेट लिएपछि नेपालले पपुवा न्यु गिनीलाई २७.२ ओभरमा १ सय १४ रनमा अलआउट गर्‍यो।

दीपेन्द्रले अविजित ५० रन बनाएपछि नेपालले २३ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपाललाई बिहीबार वान–डे मान्यता पाउन यो सफलता मात्रै पर्याप्त थिएन। १ सय ७४ रनमा अलआउट भएको नेदरल्यान्ड्सले हङकङलाई ४३ ओभरमा १ सय ३० रनमा अलआउट गरेपछि मात्र नेपाली क्रिकेटको बहुप्रतीक्षित सपना पूरा भएको हो।

जिम्बावेमा पाएको सफलताले नेपाल विश्व क्रिकेटको शीर्ष १६ राष्ट्रभित्र परेको छ। अब नेपालले माथिल्लो १५ राष्ट्रसँग आपसी समझदारीमा वान–डे अन्तर्राष्ट्रिय म्याच खेल्न पाउनेछ। भारत, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई नेपालभन्दा वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा माथिल्ला राष्ट्र हुन्।

स्कटल्यान्ड र यूएईले विश्वकप छनोटबाटै वान–डे अन्तर्राष्ट्रिय मान्यतालाई कायम राखेका हुन्। नेदरल्यान्ड्सले यस प्रतियोगितापछि यो मान्यता पाउँदै छ। टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान र वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेदरल्यान्ड्सबाहेक विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका अन्य ५ राष्ट्रमा शीर्ष तीनभित्र रहनेले वान–डे मान्यता पाउने थियो। हङकङ र पपुवा न्यु गिनीभन्दा माथि रहँदै नेपालले सफलता हात पारेको हो।

प्रतिस्पर्धी १० टोलीको वरीयतामा पुछारमा रहेको नेपाल छनोटको पहिलो तीन खेलमा जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिने निश्चित जस्तै भएको थियो। समूह चरणको अन्तिम खेलमा हङकङ र त्यसपछि पपुवा न्यु गिनीमाथिको विजयले नेपाललाई क्रिक्रेटमा माथिल्लो राष्ट्रको सूचीमा उभ्याएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनेको हो। नेपालले विश्व क्रिकेट लिग डिभिजन छनोट २००५ देखि खेलेको हो, जुन वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बन्नका लागि छनोट प्रतियोगिता हो। २००८ मा डिभिजन ५ मा खेल्दै नेपाल आधिकारिक रूपमै विश्व क्रिकेट लिगमा छिरेको थियो। २०१० मा डिभिजन ५, २०१२ मा डिभिजन ४, २०१३ मा डिभिजन ३ जित्दै नेपालले २०१४ मा विश्वकप छनोटमा पुगे पनि सहभागी १० राष्ट्रमा नवौं भएपछि रेलिगेसनमा परेको थियो। गत महिना नामिबियामा भएको डिभिजन २ मा फाइनल पुग्दै नेपालले विश्वकप छनोट लगातार दोस्रोपटक खेल्न पाएको हो। २०१४ मा नेपालले विश्व टान्टी–२० खेलेको थियो।

वान–डे अन्तर्राष्ट्रियमा झन्डै ४ हजार खेल हुने क्रममा छ। जिम्बावे भ्रमणपछि नेपालले दुई देशबीचको सहमतिमा वान–डे अन्तर्राष्ट्रिय खेल आयोजना गर्न वा ती देशमा गएर खेल्न सक्छ। नेपाल क्रिकेट संघ हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनको अवस्थामा छ। संघ निलम्बनमा रहेका कारण नेपालले तत्काल वान–डे अन्तर्राष्ट्रिय म्याच खेल्न नपाउने स्थिति पनि आउन सक्छ। यस्तो अवस्था रहेमा सेप्टेम्बरमा भारतमा हुने एसिया कप छनोटमा यूएईसँगको खेल नेपालको वान–डे अन्तर्राष्ट्रियमा पहिलो बन्न सक्छ। ढिलो–चाँडो नेपाल वान–डे अन्तर्राष्ट्रिय खेल्ने २६ औं राष्ट्र बन्नेछ।

जानकारी तथा लेखहरु