फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिमेकसँग विश्वासको सम्बन्ध कायम राख्ने नेपालका नवनियुक्त परराष्ट्रमन्त्रीको भनाइ

(GMT+08:00) 2018-03-17 14:34:33

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश नीति सञ्चालनलाई गम्भीर रूपमा लिँदै सरकारले 'प्रो–एक्टिभ' कूटनीति अवलम्बन गर्ने बताउनु भएको छ। उहाँले सरकारले सम्बन्धदेखि सबै विषयमा प्राथमिकता अनुरूप काम गर्दै अघि बढ्ने बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

परराष्ट्र मन्त्रालयमा हिजो शुक्रबार साँझ पदभार ग्रहणपछि आफ्नो प्राथमिकता स्पष्ट पार्दै उहाँले भन्नुभयो, 'हाम्रो प्राथमिकता दुई छिमेकी मुलुक भारत र चीनसँग आ–आफ्नै प्रकारको सम्बन्ध कायम गरेर अघि बढ्ने नै हो।' अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले छिमेकीद्वय भारत र चीन अत्यन्त महत्त्वपूर्ण रहेको बताएकाले विश्वासको वातावरण थप मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।

एकअर्काप्रति सद्भावका आधारमा सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्नेमा ज्ञवालीको जोड छ। छिमेकी देशहरूसँगको सम्बन्धलाई विस्तार गर्ने सरकारको नीतिअनुसार काम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो। सरकारले दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित गर्नेभन्दा पनि राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आ–आफ्नै प्रकारको सम्बन्ध राखेर अघि बढ्ने र नेपालप्रति 'विश्वास एवं सद्भाव' बढाउनेमा जोड दिउनुभयो।

परराष्ट्रमन्त्रीले पत्रकारको उपस्थितिमा मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै राष्ट्रिय स्वार्थको रक्षा गर्दै दुवै छिमेकी मुलुकहरूको चासो मुलुक हित हेरी सम्बोधन गर्न मन्त्रालयको भूमिका रहेको बताउनुभयो।

उहाँले नेपालका तर्फबाट हुने भ्रमण जस्तो विदेशबाट पनि नेपालतर्फ भ्रमण गराउन पहल गरिनेसमेत बताउनुभयो। अबको कूटनीति सबैको विश्वास लिएर अघि बढ्ने प्रकारको हुनुपर्नेमा उहाँको जोड छ। 'सम्बन्धमा अविश्वास छन् भने पनि त्यसलाई समाप्त पार्नुपर्छ। सम्बन्ध मजबुत पार्दै विकसित रूपमा अघि बढाउन सकिए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रताको समेत रक्षा हुन्छ,' मन्त्री ज्ञवालीले भन्नुभयो, 'हामी सार्क, बिमस्टेक जस्ता क्षेत्रीय संगठनको अध्यक्षता गरिरहेका छौँ।

यसको काम पनि उत्तिकै सक्रिय बनाएर जान सक्नुपर्छ।' संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय संस्थाहरूसँगको सम्बन्धलाई पनि ध्यान दिएर नेपाल अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। ठूलो संख्यामा नेपाली युवा काम गर्ने खाडी मुलुकहरूसँगको सम्बन्धलाई सरकारले महत्त्व दिनेमा उहाँको जोड छ। 'वैदेशिक रोजगारीमा गएका युवाको कल्याण, सुरक्षा र हित पछिल्लो प्राथमिकता हुन आवश्यक छ।' कूटनीतिक नियोगलाई अझ सक्षम र चुस्त बनाउनुपर्ने उहाँको धारणा छ।

जानकारी तथा लेखहरु