फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विमान दुर्घटनामा घाइते भएकाहरुको उपचारमा नेपाली प्रमको प्रतिवद्धता

(GMT+08:00) 2018-03-17 14:39:41
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार भएको विमान दुर्घटनाका घाइतको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ। विमान दुर्घटनाबारे प्रतिनिधिसभा बैठक र राष्ट्रियसभालाई शुक्रबार जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जाँचबुझका लागि गठित समितिको प्रतिवेदनका आधारमा आउँदा दिनमा घटना न्यूनीकरणका लागि सरकारले सुझाव कार्यान्वयन गर्ने पनि बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले दुर्घटनापछिको उद्धार तथा उपचारमा राज्यसंयन्त्र तथा अन्य निकायबाट भएको तदरुकताको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, 'दुर्घटनाका घाइतेको उपचारमा कुनै पनि कमी हुने छैन। घटनाबारे अनुसन्धान र सुझावका लागि जाँचबुझ समिति गठन भएको छ। भावी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्नेछ। '

प्रधानमन्त्री ओलीले घटनामा परी नेपाली र विदेशी नागरिकसहित ४९ जनाको ज्यान गएको सदनलाई जानकारी दिनुभयो। उहाँले घटनाबारे आफूले तत्कालै बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमी हुन नदिने जानकारी गराएको पनि बताउनुभयो।

गत सोमबार बङ्गलादेशको ढाकाबाट काठमाडौँ आएको यूएस बङ्गला विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनामा ४९ जनाको निधन भएको थियो। निधन हुनेमा २२ नेपाली, २६ बङ्गलादेशी र १ चिनियाँ नागरिक छन्। यस्तै, २२ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जना उपचारपछि घर फर्किएका छन्। १७ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। सरकारले घटना छानविनका लागि पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिसकेको छ।

यसैबीच प्रतिनिधिसभाको शुक्रबारको बैठकले विमान दुर्घटनामा मृत्यु भएका स्वेदशी तथा विदेशी नागरिकको सम्झनामा विशेष शोक प्रस्ताव पारित गरेको छ। सभाले दिवंगतहरूको चिर शान्तिको कामना गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। मृतकको सम्झनामा मौन धारण गरिएको थियो।

जानकारी तथा लेखहरु