फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको प्रदेश ७ का चार सहरलाई एडीबीको ९ अर्ब ऋण

(GMT+08:00) 2018-03-17 14:41:55

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नेपालको प्रदेश ७ का चार सहरमा स्तरोन्नतिको काम सुरु भएको छ। क्षेत्रीय सहरी विकास आयोजनाले पञ्चवर्षीय योजनाअन्तर्गत काम सुरु गरेको कान्तिपुर अनलाइनले लेखेको हो।

एडीबीले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरका भीमदत्त तथा शुक्लाफाँटा नगरपालिकामा सहरी विकासका लागि ९ अर्ब बजेट दिएको छ। धनगढी र भीमदत्तका लागि ३/३ अर्ब, गोदावरीमा २ अर्ब र शुक्लाफाँटा नगरपालिकाका लागि १ अर्ब बजेट छुट्याएको हो। यी चारै सहरमा भौतिक पूर्वाधार निर्माणको काम सुरु हुँदैछ। पहिलो चरणमा सडक स्तरोन्नति र फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा काम सुरु भएको छ। सडकमा ढल तथा नाली निर्माणको कामसमेत गरिनेछ।

दोस्रो चरणमा सामाजिक, आर्थिक र लैंगिक समावेशीको क्षेत्रमा समेत आयोजनाले काम गर्ने जनाएको छ। आयोजना हेर्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले पहिलो चरणअन्तर्गत ४ वटा क्षेत्रगत काम गर्न लागेको बताउनुभयो। त्यसमा सडक तथा नाली निर्माण, फोहोर व्यवस्थापन, ढल निकास र कार्यालय नभएका नगरको व्यवस्थित भवन निर्माणको काम गरिनेछ।

'सन् २०१७ देखि २०२२ सम्ममा ४ वटा क्षेत्रगत काम सम्पन्न गरिनेछ,' प्रमुख बोहराले भन्नुभयो, 'पहिलो वर्ष आयोजनाको तयारी, परामर्शदाता नियुक्तिलगायत काम पूरा भएका छन्।' सडक, नाली र फोहोर व्यवस्थापनको सर्भे अध्ययन भई डिजाइन निर्माणको चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिकाबाहेक अन्य ३ नगरपालिकामा भने फोहोर व्यवस्थापन केन्द्रको काममा समस्या उत्पन्न भएको इन्जिनियरसमेत रहेका कार्यालय प्रमुख बोहराले बताउनुभयो। 'त्यहाँ डम्पिङ साइट निर्माणका लागि जग्गा प्राप्त भएको छैन,' उहाँले भन्नुभयो, 'धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ मा ३५ बिघा जग्गा उपलब्ध हुँदा त्यहाँ डम्पिङ साइटका लागि डिजाइन निर्माण भइरहेको छ।'

बोहराले आयोजना सञ्चालनका लागि बजार क्षेत्रको सडक विस्तारको काम प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभयो। 'सडक विस्तारका लागि आवश्यक पर्ने ३० मिटर क्षेत्र ओगटदा बजारका धेरै पसल र पूर्वाधार भत्किन्छन्,' उहाँले भन्नुभयो, 'त्यसैले सडक विस्तारको काम अघि बढाउन नगरवासीको सहयोग आवश्यक छ।' साउन/भदौमा निर्माण कार्यको ठेक्का प्रक्रिया अघि बढ्नेछ।

धनगढी उपमहानगरपालिकाले सडक विस्तार गरिने क्षेत्रका स्थानीयवासीसँग छलफल अघि बढाएको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताउनुभयो। 'निर्माण प्रक्रिया सुरु भएपछि समस्या नहोस् भनेर नगरवासीसँग छलफल सुरु गरेका छौं,' उहाँले भन्नुभयो, 'नक्सा पास भएका घरजग्गासमेत सडक विस्तारमा पर्ने देखिन्छ। तैपनि उहाँहरू छलफलमा आउनुभएको छ।'

धनगढीको चौराहादेखि क्याम्पस रोडसम्मको मुख्य बजार क्षेत्रमा ३० मिटर सडक नाली विस्तार गरिँदा सबैभन्दा बढी पूर्वाधार संरचना भत्कनेछन्। 'केही व्यक्तिहरूले मुख्य बजार क्षेत्रको सडक विस्तारको क्षेत्र घटाउनका लागि चलखेल सुरु गरेका छन्,' सडक विस्तार दबाब समूहका गणेश भण्डारीले भन्नुभयो, 'यस्तो चलखेल मोहनादेखि अत्तरियासम्मको ६ लेन सडकमा समेत भएको थियो। त्यसलाई असफल पार्‍यौँ। मुख्य बजार क्षेत्रको सडक विस्तारमा पनि एक इन्च घटन दिने छैनौँ।'

इन्जिनियर भट्टले सडक निर्माण गर्दा न्यून क्षति होस् भनेर बढीमा १/२ मिटर चौडाइ घटाउन सकिने प्रावधान राखेकाले त्यसमाथि केहीले अनावश्यक चलखेल गर्न खोजेको स्वीकार्नुभयो।

जानकारी तथा लेखहरु