फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षलाई नेपाली नेताहरुको बधाई

(GMT+08:00) 2018-03-18 13:44:06

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नु भएको छ। बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा वाङ छिसानलाई बधाई ज्ञापन गर्नु भएको छ। उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गर्नु भएको छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्राध्यक्ष सी चिङफिङ पुनः राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्नु भएको छ। प्रधामन्त्री ओलीको सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल 'एक चीन नीति' प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गर्नु भएको छ।

साथै, प्रधानमन्त्री ओलीले राष्ट्राध्यक्ष सीको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास पनि व्यक्त गर्नु भएको छ।

रासस

जानकारी तथा लेखहरु