फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन निकुञ्ज बचाएर पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गरिँदै

(GMT+08:00) 2018-03-19 13:53:17

चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो। रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ। भरतपुर विमानस्थलको पश्चिमपट्टि लंकूको पनि पश्चिमबाट खरखरे घाट हुँदै नवलपरासीको मुकुन्दपुरबाट रेल सञ्चालन हुने भएको हो।

यस अघिको सम्भाव्यता अध्ययनमा पर्साको ठोरी हुँदै चितवनको माडीबाट निकुञ्ज पार गरेर गोलाघाटबाट नवलपरासीतर्फ जाने थियो ।

विश्व सम्पदा सूचीमा परेको निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिँदै आएका थिए । विश्व सम्पदा सूचीमा परेका क्षेत्रबाट पूर्वाधार निर्माण गर्दा युनेस्कोबाट अनुमति लिनुपर्ने भएपछि विकल्प खोजिएको हो ।

यो क्षेत्रबाट रेलमार्ग बनाउने गरी रुट सर्भे सकिएकाले अब विस्तृत परियोजना प्रतिवेदन (डीपिआर)को प्रक्रियाअघि बढाउने तयारी गरिएको उपाध्यायले बताउनुभयो। उहाँका अनुसार आगामी आर्थिक वर्षमा डिपिआरको काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जान सकिने छ। पूर्व पश्चिम रेलमार्ग ९४५ किलोमिटर लामो हुने गोरखापत्र अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु