फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सात महिनामा नेपालको व्यापार घाटा ६ खर्ब

(GMT+08:00) 2018-03-20 14:08:22

सात महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिअनुसार साउनदेखि माघसम्म ६ खर्ब १३ अर्ब ६० करोड व्यापार घाटा छ। सात महिनामा निर्यात १२ दशमलव ९ प्रतिशतले बढेर ४७ अर्ब ६२ करोडमा सीमित हुँदा आयात १८ दशमलव ९ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ। आयातमा निर्यात घटाउँदा व्यापार घाटा निस्कन्छ।

निर्यातको वृद्धिदर गत वर्षको भन्दा पनि कम हो। गत वर्ष १५ दशमलव २ प्रतिशतले निर्यात बढेकोमा यो पटक १२. ९ मा सीमित भएको हो। राष्ट्र बैंकका अनुसार बस्तुगत आधारमा पशु आहार, जुटका सामान, बनस्पति घ्यु, धागो तथा तयारी पोशाकको निर्यात बढेको छ। अलैँची, जिआइ पाइप, उनीको गलैंचा, तामाका तार लगायतको निर्यात घटेको छ।

चीनतर्फबाट हुने आयातमा १९.७, भारतबाट १८. ७ र अन्य मुलुकबाट १८. ९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले जनाएको छ। पेट्रोलियम पदार्थ, मेसिनरी पार्टपूर्जा, यातायातका साधन, सुनको आयात सबैभन्दा उच्च छ।

यस आर्थिक वर्षको सात महिनामा मुलुक १७ अर्ब ८७ करोड रुपैयाँ नोक्सानमा देखिएको छ। शोधनान्तर स्थिति १७ अर्ब ८७ करोडले घाटामा देखिएको हो।

गत वर्षको यस अवधिमा ३४ अर्ब ३४ करोड यस्तो घाटा थियो। गत आर्थिक वर्षको १२ महिनामा ७७ अर्ब ६६ करोडले शोधनान्तर घाटामा थियो। देशबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर भन्ने गरिन्छ।

देश भित्रिने रकम बाहिरिनेभन्दा बढी हुँदा शोधनान्तर नाफामा जान्छ भने बाहिरिनेभन्दा भित्रिने रकम कम भएमा घाटामा देखिन्छ। बढ्दो व्यापार घाटा तथा रेमिट्यान्स आप्रवाहमा सन्तोषजनक वृद्धि नहुँदा शोधनान्तरमा चाप परेको छ। सात महिनामा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड पुगेको सेतोपाटी अनलाइनले जनाएको छ।

वैदेशिक लगानी १४ अर्ब ३४ करोड भित्रिएको छ। अघिल्लो वर्षको यस अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब २५ करोड हुँदा ७ अर्ब ६० करोड रुपैयाँ लगानीवापत मुलुकमा भित्रिएको थियो।

जानकारी तथा लेखहरु