फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा ८ महिनामा वैदेशिक लगानीको प्रतिवद्धता उत्साहजनक

(GMT+08:00) 2018-03-21 14:07:29
शान्तिपूर्ण रूपमा तीन तह (स्थानीय, प्रदेश र केन्द्र) को निर्वाचन सम्पन्न भइ संविधान कार्यान्वयनमा आएपछि विदेशी लगानीकर्ता पनि सकरात्मक देखिन थालेका छन्। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आएको विदेशी लगानी प्रतिबद्धताले आशाको किरण देखाएको हो।

उद्योग विभागमा साउनदेखि फागुन मसान्तसम्म ३४ अर्ब ९१ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यो प्रस्ताव गत वर्षको सोही अवधिको तुलनामा तीन सय ४४ प्रतिशत हो। गत वर्षको पहिलो आठ महिनामा १० अर्ब १५ करोड लगानीको प्रतिबद्धता आएको थियो। संविधान कार्यान्वयन भएर लगानीमैत्री वातावरण बन्ने अनुमानमा विदेशीले लगानीको प्रस्ताव गर्न थालेका हुन्।

यो वर्ष ऊर्जा क्षेत्रमा २२ अर्ब आठ करोड विदेशी लगानी प्रस्ताव आएको छ। गत वर्ष ऊर्जामा लगानी प्रतिबद्धता शून्य थियो। चारवटा परियोजनामार्फत आउने लगानीबाट तीन सय ६० जनाले रोजगारी पाउनेछन्। यस वर्ष स्वदेशी लगानीकर्ताबाट पनि ऊर्जामा लगानी प्रतिबद्धता बढेको छ।

सेवा र पर्यटन क्षेत्रमा बाहेक सबै क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता बढेको विभागले जनाएको छ। यो वर्षको आठ महिनासम्ममा सेवा क्षेत्रमा एक अर्ब २७ करोड र पर्यटनमा एक अर्ब ५७ करोड लगानी प्रस्ताव आएको छ। गत वर्षको सोही अवधिमा सेवा क्षेत्रमा तीन अर्ब ८१ करोड र पर्यटनमा चार अर्ब ८० करोड लगानीको प्रस्ताव आएको थियो।

यो वर्ष कृषि तथा वनजन्य परियोजनामा एक अर्ब ८६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ। ११ परियोजनामार्फत आउने लगानीले दुई सय ८५ जनालाई रोजगारी दिने प्रतिबद्धता छ। सूचना प्रविधिका तीन सय परियोजनाले २६ करोड लगानी भिœयाउने प्रतिबद्धता जनाएका छन् यसबाट चार सय ५६ जनाले रोजगारी पाउनेछन्।

यसैगरी, उत्पादनमूलक उद्योगमा पाँच अर्ब ८५ करोड लगानीको प्रस्ताव आएको छ। ३९ परियोजनामार्फत आउने लगानीले दुई हजार दुई सय ५८ जनालाई रोजगारी दिनेछन्। खनिजजन्य परियोजनामा दुई अर्ब लगानी आउँदैछ।

एउटै परियोजनामार्फत आउन लागेको लगानीले चार सय जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ। यस्तै, सेवा क्षेत्रमा ६२ र पर्यटन क्षेत्रमा ६० परियोजनाले लगानी प्रतिबद्धता गरेका छन्। कुल प्रस्तावित करिब ३५ अर्ब लगानीबाट सात हजार पाँच सय ४१ जनाले रोजगारी पाउनेछन्।

नवलपरासी जिल्लाको मध्यविन्दू नगरपालिकामा विदेशी लगानीमा तियानी सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ। ३० प्रतिशत स्थानीय र ७० प्रतिशत विदेशी लगानी रहने उद्योगमा कुल पुँजी एक अर्ब ९० करोड रहेको छ। यस्तै, नवलपरासीको सुक्रौलीमा बरुण बेभरेज प्रालिको शाखा सञ्चालनमा आउने भएको छ। यसको कुल पुँजी दुई अर्ब ३९ करोड रहेको छ। उद्योगबाट हलुका पेय पदार्थ उत्पादन गर्ने उल्लेख गरिएको छ।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार चीनको ह्वासिन सिमेन्ट एसिया इन्भेस्मेन्ट कम्पनीले ठूलो लगानीमा सिमेन्ट उत्पादन गर्ने प्रस्ताव गरेको छ। धादिङको महादेवस्थानमा रहने ह्वासिन सिमेन्ट नारायणीको कुल पुँजी १४ अर्ब ८२ करोड रहेको छ। पूर्णतया विदेशी लगानी रहने उद्योगमा २५ मेगावाट बिजुली आवश्यक पर्ने उल्लेख छ।

जानकारी तथा लेखहरु