फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यालयद्वारा जडीबुटी चिनाउने अभियान

(GMT+08:00) 2018-03-22 13:49:05

पश्चिम नेपालको बागलुङस्थित एक विद्यालयले आफ्ना विद्यार्थीलाई जडीबुटी चिनाउने अभियान सुरु गरेको छ। स्थानीयस्तरमा पाइने जडीबुटीको सही पहिचान र संरक्षण नहुँदा गाईवस्तुको घाँसको रूपमा प्रयोग हुँदै गएकोले काठेखोला गाउँपालिका वडा नं. ७ स्थित रेश नुन्थला माविले विद्यार्थीलाई जडीबुटी चिनाउने अभियान सुरु गरेको गोरखापत्रले जनाएको छ।

विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई गाउँघरमा पाइने जडीबुटी सङ्कलन गर्न लगाएर जडीबुटीका विषयमा जानकारी गराउने काम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर थापाले जानकारी दिनुभयो। दैनिक जीवनमा प्रयोग हुने सामान्य जडीबुटीका बारेमा समेत विद्यार्थीमा ज्ञान नभएकाले उनीहरूलाई ज्ञान दिनका लागि यस्तो अभियान चलाइएको थापाले बताउनुभयो।

गाउँघरमा पाइने टिपुर, तुलसी, दमसिन्का, कचुर, सतुवा, कालोकाफल, भोलाटाप्रे, मूलापाते, दमकेर्नाजस्ता झारपातहरू गाउँघरमा यत्रतत्र भेटिने भए पनि त्यसको उचित संरक्षण र सम्बद्र्धन हुन नसकेकाले विद्यालयलाई व्यवहारिक ज्ञान दिनका लागि प्रोत्साहित गरेको काँठेखाला गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम लामिछानले जानकारी दिनुभयो।

नेपालमा कृषि, जडीबुटीका बारेमा औपचारिक, अनौपचारिक पढाइ हुने भए पनि विद्यार्थी त्यसप्रति आकर्षित नभएकाले उच्चशिक्षामा त्यस्ता विषय विद्यार्थीको रोजाइमा पर्न सकून् भन्ने विद्यालयको उद्देश्य छ। विद्यालयले विद्यार्थीले सङ्कलन गरेका जडीबुटीहरूलाई विद्यालयमा संरक्षण गरेको छ।

जानकारी तथा लेखहरु