फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रमुख व्यापारिक साझेदारमा चीन र भारतपछि इण्डोनेसिया

(GMT+08:00) 2018-03-23 15:39:09

अन्तर्राष्ट्रिय व्यापारमा नेपालका प्रमुख साझेदार देश पछिल्ला आर्थिक वर्षमा प्रायः फेरिइरहेको पाइएको छ । दुई छिमेकी भारत र चीनबाहेक अन्य मुख्य व्यापार साझेदार देशको सूची पछिल्ला वर्षमा फरकफरक हुँदै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ।

केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको व्यापार तथ्याङ्क अनुसार भारत र चीनबाहेक इन्डोनेसिया आयातको हिसाबले नेपालको तेस्रो ठूलो व्यापार साझेदार देश बनेको छ। त्यस्तै अर्जेन्टिना र थाइल्याण्ड सूचीको चौथो र पाँचौँ स्थानमा छन्। गोरखापत्र अनलाइनका अनुसार अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म संयुक्त अरब इमिरेट्स नेपालको तेस्रो ठूलो व्यापार साझेदार थियो। चौथोमा फ्रान्स रहँदा पाँचौँ स्थानमा मात्रै इन्डोनेसिया थियो।

यस अवधिमा नेपालले इन्डोनेसियाबाट सात अर्ब ६३ करोड रुपियाँको वस्तु आयात गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म इन्डोनेसियाबाट नेपालले छ अर्ब ४९ करोड रुपियाँको आयात गरेको थियो। अघिल्लो आवको सोही अवधिको तुलनामा १७.७ प्रतिशतले बढी हो। आयातका हिसाबले चौथो ठूलो देशका रूपमा रहेको अर्जेन्टिनाबाट अहिलेसम्म सात अर्ब ४९ करोड रुपियाँ आयात भइसकेको छ । अघिल्लो आवमा पाँच अर्ब ९० करोड रुपियाँको आयात भएकोमा यस वर्ष २६.९ प्रतिशतले बढेर अर्जेन्टिनासँग सो मूल्य बराबरको व्यापार पुगेको हो। त्यस्तै थाइल्यान्डबाट अघिल्लो आवको सोही अवधिको तुलनामा १५.२ प्रतिशतले आयात वृद्धि भई सात अर्ब १० करोड रुपियाँ पुगेको छ।

आयातका प्रमुख साझेदार देश इन्डोनेसिया, अर्जेन्टिना र थाइल्यान्डसँग नेपालको निर्यात व्यापार भने खासै धेरै देखिँदैन। नेपालका प्रमुख १५ ओटा निर्यात साझेदार देशको सूचीमा पनि यी देशको नाम अटाएको छैन । अघिल्लो आवका प्रमुख आयात साझेदार संयुक्त अरब इमिरेट्स र फ्रान्ससँगको आयात व्यापार भने घटेको छ । यी दुवै देशसँग क्रमशः आयात ७८.८ र २९.४ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको आयात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.६ प्रतिशतले बढी हो । त्यस्तै निर्यात व्यापार ११.९ प्रतिशतले बढेर ४७ अर्ब ५० करोड रुपियाँ पुगेको छ। भारतसँग नेपालले यसबीचमा चार अर्ब ३२ अर्बको आयात गरेको छ भने २७ अर्ब रुपियाँको निर्यात गरेको छ।

आयात र निर्यात साझेदार देशमा भारत पहिलो स्थानमा रहेको छ । त्यस्तै धेरै आयात हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको चीनबाट यसबीचमा ८८ अर्ब ५७ करोड रुपियाँको आयात भएको छ तर निर्यात केवल एक अर्ब ७७ करोड रुपियाँ मात्र रहेको छ। नेपालबाट धेरै निर्यात हुने देशको सूचीमा भने चीन पाँचौँ स्थानमा छ। नेपालबाट धेरै निर्यात हुने देशको सूचीमा अमेरिका दोस्रो, टर्की तेस्रो र जर्मनी चौथो स्थानमा छन्।

जानकारी तथा लेखहरु