फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) ले तत्काल ऋण तथा अनुदान नरोक्ने

(GMT+08:00) 2018-03-23 15:44:38

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) ले तत्काल ऋण तथा अनुदान नरोक्ने भएको छ । एडीबीका नेपाल निर्देशक मुख्तार खामुदखानोभले बिहीबार विमानस्थल निर्माणको स्थलगत अवलोकन गरी ऋण तथा अनुदान नरोक्ने बताउनुभयो।

सुरुमा २ दिनदेखि स्थलगत अनुगमन र कामको टिपोट तयार गरेको टोलीसित विवरण बुझेपछि काम नरोक्ने निर्णय सुनाइएको हो। विमानस्थलको गतिलाई बढाउन काठमाडौंमा नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँग थप छलफल गर्ने एडीबीले जनाएको छ ।

अहिलेसम्मको निर्माण र अबको बाटो विषयका एडीबी, विमानस्थल आयोजना, ठेकेदार कम्पनीबीच बृहत् छलफलसमेत आयोजना भयो । छलफलपछि आउँदो जुन महिनासम्ममा ठेकेदार कम्पनीले ५० प्रतिशत काम सक्ने सहमति भएको कान्तिपुर अनलाइनले जनाएको छ ।

३५ जना चिनियाँसहित २ सय मजदुर अहिले विमानस्थलमा कार्यरत छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुत गतिमा कच्चा पदार्थ संकलनको काम भएको छ । कम्पनी यो गति अझ बढाउन सहमत भएको छ । 'यसअघि आयोजनाले गरेको कामसित नभई कम्पनी कालोसूचीमा परेका कारण एडीबीले चेतावनी दिएको थियो ।' आयोजना प्रमुखले बताए।

ऋण र अनुदानको पुनरावलोकन गर्न एडीबी टोली तीन दिनदेखि भैरहवामा छ ।

एडीबीले करिब २ महिनाअघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । जनवरीयता आफ्नो ऋण र अनुदानसमेत बन्द गरेको थियो । सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित विमानस्थलमा एडीबीले लगानी गरेको थियो । त्यसमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ग्लोबल टेन्डरमार्फत सन् २०१७ डिसेम्बर ३१ सम्म काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । मधेस आन्दोलन, नाकाबन्दी, भूकम्पजस्ता कारणले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो । यसअनुसार सरकारले सन् २०१८ को जुनसम्म म्याद थपे पनि एडीबी सहमत भएको थिएन । सट्टामा कम्पनी कालोसूचीमा रहेकाले म्याद थप्न समस्या हुने बताएको थियो ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडीबीको ५४ करोड अनुदान रहेको छ । बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म २ अर्ब खर्चिएको छ । यसबाट डिसेम्बरसम्म ३५ प्रतिशत काम सकिएको थियो । अहिलेसम्म करिब ३७ प्रतिशत काम सकिएको छ । एडीबीले अहिलेसम्म १ अर्ब ५० करोड भुक्तानी गरिसकेको विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले बताउनुभयो।

२०२१ सालमा स्थापित यो विमानस्थल सुरुमा ७९ बिघामा फैलिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल बन्दा यसको जग्गा ७ सय ८७ बिघा भएको छ ।

जानकारी तथा लेखहरु