फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३औं नम्बरमा

(GMT+08:00) 2018-03-25 13:27:51

संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको 'ट्रिप एडभाइजर' ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ । त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ। विश्वका उत्कृष्ट २५ को यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो। पहिलो स्थानमा भने इन्डोनेसियाको बाली सहर परेको छ। दोस्रोमा बेलायतको लन्डन सहर छ। काठमाडौंले फ्रेन्च पोलिनेसियामा रहेको बोराबोरा आइसल्यान्ड र पेरुको क्युस्को सहरलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ।

ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो। संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ गन्तव्य छनोट गरेका हुन्।

'उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्त हर्ने गाउँहरूले घेरिएको उपत्यका हो,' ट्रिप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्ट सूचीमा लेखेको छ, 'स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन्।'

ट्रिप एडभाइजर तयार पारेको विश्वका उत्कृष्ट २५ गन्तव्य सूचीको तेस्रो स्थानमा स्थानमा फ्रान्सको पेरिस, चौथो इटालीको रोम, पाँचौं अमेरिकाको न्युयोर्क, छैठौं ग्रिसको क्रेट, सातौं स्पेनको बार्सिलोना, आठौं कम्बोडियाको साएम रिप, नवौं चेक गणतन्त्रको प्राग, दसौं थाइल्यान्डको फुकेट, एघारौं टर्कीको इस्तानबुल र बाह्रौंमा जमैका परेको छ। त्यसैगरी सूचीको तेह्रौं स्थानमा भियतनामको हनोई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं बे आइल्यान्डको रोटान, सोह्रौं मोरक्कोको माराकेच, सत्रौं बेलिज कायसको एम्बरग्रिस काये, अठारौं ब्राजिलको रियो डि जेनेइरो, उन्नाइसौं सेन्ट मार्टिनको सेन्ट मार्टिन, बीसौं मेक्सिकोको प्लाया डेल कार्मेन, एक्काइसौं युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, बाइसौं केम्यान आइसल्यान्डको ग्रान्ड केम्यान, चौबीसौं बोराबोरा र पच्चीसौं स्थानमा पेरुको क्युस्को परेका छन्।

काठमाडौंले एसियाको उत्कृष्ट छैठौं स्थान ओगटेको २५ गन्तव्य सूचीको पहिलो स्थानमा इन्डोनेसियाको बाली, दोस्रो थाइल्यान्डको फुकेट, तेस्रो भियतनामको हनोई, चौथो कम्बोडियाको साएम रिप र पाँचौंमा जापानको टोकियो परेका छन्।

नेपालभन्दा पछाडि क्रमशः हङकङ, भारतका नयाँदिल्ली र गोवा, सुरत थानी प्रान्तको को सामुई, भियतनामको होइ आन, थाइल्यान्डको बैंकक र चियाङ माइ, वेस्ट नुसा टेनग्राको लोम्बोक, थाइल्यान्को क्राबी टाउन, भारतको जयपुर, चीनको बेइजिङ, भियतनामका हो चि मिन्ह सिटी, सिंगापुर, भिसायासको पाने आइसल्यान्ड, जापानको क्योटो, ताइवानको ताइपेइ, दक्षिण कोरियाको सोल, भियतनामको दा नाङ र चीनको सांघाई परेका छन्।

ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ । हाल यसका ३१ करोड ५० लाख सदस्य छन् । यसको वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गर्छन्। हालसम्म यसमा संसारका ३१ लाखभन्दा बढी होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्यका बारेमा ५० करोडवटा समीक्षा र विचार प्रकाशित भइसकेका नागरिक अनलाइनमा समाचार छ।

जानकारी तथा लेखहरु