फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आविष्कार केन्द्रको 'मेडिकल ड्रोन' को उडान म्याग्दीबाट

(GMT+08:00) 2018-03-26 16:08:41

        नेपालका सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित 'मेडिकल ड्रोन' ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ। नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको 'मेडिकल ड्रोन' केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। "अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ। नियमित उडानका लागि केही समय लाग्छ" पुनले भन्नुभयो।

        पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताउनुभयो। ड्रोनले औषधि लिएर गन्तव्यमा पुगी औषधि छोडेर एयरर्पोटमा फर्किने छ। ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवा व्यस्त रहेका छन्। केन्द्रमार्फत विद्युतीय सवारीसाधन, जलविद्युत् आयोजनाका सोचसमेत बनाइएको छ।

         केन्द्रको दिगो विकासका लागि तीन वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आउनुभएको छ।

         पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्ष अगाडि खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गर्नुभएको छ।

         म्याग्दी जिल्लाका साथै प्रवासमा रहेका म्याग्देलीले समेत केन्द्रलाई प्राथमिकतामा राखेर सहयोग गरेका पुनले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु