फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा बाह्र वर्षपछि ट्राफिक लाइट

(GMT+08:00) 2018-03-28 16:45:17

        बाह्र वर्षपछि नेपालको राजधानी काठमाडौँको सडकमा ट्राफिक बत्ती बलेपछि ट्राफिक प्रहरीका हातहरूले बल्ल विश्राम गर्न पाउने भएका छन्। २०६३ सालमा निभेको ट्राफिक लाइट मङ्लबारबाट सुचारु भएको गोरखापत्र अनलाइनले लेखेको छ। यसबाट केही स्थानमा ट्राफिक प्रहरीले अब हातको इशारा गरिरहनु पर्दैन।

        महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राजधानीको आठवटा ठाउँमा 'स्मार्ट ट्राफिक लाइट'को आरम्भ गर्नुभयो। उहाँले रिमोटमार्फत ट्राफिक लाइटको आरम्भ गर्नुभएको थियो। नयाँबानेश्वरचोक, पुतलीसडकको पद्मोदय मोड र महाराजगञ्जको नारायणगोपालचोकमा 'इन्टरसेक्सन ट्राफिक लाइट्स' जडान गरिएको छ। नारायणगोपालचोकमा पहिलोपटक नयाँ ट्राफिक लाइट जडान गरिएको हो। २५ लाख रुपियाँको लागतमा पूर्णरूपमा नेपाली प्रविधि र इन्जिनियरहरूको सहयोगमा सीसी क्यामेरासहित नारायणगोपालचोकमा ट्राफिक लाइट जडान गरिएको छ।

         त्यसैगरी नयाँसडक, सुन्धारास्थित काठमाडौँ महानगरपालिका कार्यालय अगाडि, पुतलीसडक कुमारी बैङ्क अगाडि, सोल्टीमोड र दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि पैदल यात्रुका लागि 'पेडस्ट्रियन ट्राफिक लाइट्स' जडान गरिएको छ।

        सडक विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त प्रयासमा राजधानीका सडकमा ट्राफिक लाइट सञ्चालनमा आएको छ। प्रहरी नायब महानिरीक्षक खनालले राजधानीको अन्य सडक तथा चोकमा समेत ट्राफिक लाइट सञ्चालनमा ल्याइने बताउनुभयो।

         ट्राफिक लाइट जडान भएको चोकमा अब सवारी चालकले तीन मिनेटभन्दा बढी समय जाम बस्नु पर्दैन भन्दै लाइट जडानको जिम्मा पाएका यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले जडान गरिएका लाइटहरू सोलारबाट सञ्चालन हुने र स्वचालित रहेको जानकारी दिनुभयो।

         ट्राफिक प्रहरीले उपत्यकाका चाबहिल, पुरानोबानेश्वर, मैतीदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसीचोक, महालक्ष्मी स्थान, टेकू, गैह्रीधारालगायतका ३४ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको भन्दै महानगरपालिका र सडक विभागलाई जानकारी गराएको ट्राफिक महाशाखाले जनाएको छ।

         नेपालमा पहिलोपटक विक्रम संवत् २०२४ सालमा सुन्धारा, नयाँसडक गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान गरिएको थियो, जुन विभिन्न कारणले लामो समयसम्म सञ्चालनमा आउन सकेन। जापान सरकारको सहयोगमा २०५८ सालमा थापाथलीसहित केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो।

जानकारी तथा लेखहरु