फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रु १० प्रतिशतले बढे

(GMT+08:00) 2018-03-28 16:45:55

         नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१७ मा ३८ लाख ८७ हजार ८ सय यात्रुले ओहोरदोहोर गरेका छन्। यो विमानस्थलबाट २८ वटा विदेशीसहित ३१ वटा एयरलाइन्सले उडान र अवतरण गर्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यो संख्या गत वर्षको दाँजोमा ३ लाख ७७ हजारले बढी हो। विमानस्थल हुँदै सन् २०१६ मा ३५ लाख १० हजार यात्रुले ओहोरदोहोर गरेका थिए। कुल ३८ लाख अन्तर्राष्ट्रिय यात्रुमध्ये १० लाख हाराहारी विदेशी रहेको नेपाल पर्यटन बोर्डले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

      'सन् २०१७ मा ९ लाख ४२ हजार विदेशी पर्यटक हवाईमार्ग भएर नेपाल आएको देखिन्छ,' बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, 'उत्तरी र दक्षिणी नाकाको सडक मार्गसमेतबाट नेपाल पस्ने विदेशी पर्यटकको संख्या कम्तीमा १० लाख ५० हजार नाघेको अनुमान गरेका छौं। यकिन तथ्यांक भने आइसकेको छैन।'

          सन् २०१७ मा सबैभन्दा धेरै यात्रुले ओहोरदोहोर नोभेम्बर महिनामा गरेका छन्। त्यस महिनामा ३ लाख ८४ हजार ८ सय यात्रुले ओहोरदोहोर गरेको देखिन्छ। सबैभन्दा कम जुन महिनामा २ लाख ६२ हजार ७ सय रहेको छ।

          विमानस्थलका अनुसार ०१७ मा अन्तर्राष्ट्रिय उडानको संख्या पनि अघिल्लो वर्षको दाँजोमा ६ हजार २ सय ४४ ले बढेर ३३ हजार ३ सय ६२ पुगेको छ। सन् ०१६ मा कुल विदेशी उडान २७ हजार १ सय १८ वटा भएका थिए। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार भूकम्प र नाकाबन्दीपछि विदेशी आगमन र उडान संख्या बढ्दो छ।

        'दिनमा आन्तरिक उडानसमेत गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ सय १० वटासम्म उडान भएका छन्,' प्रवक्ता ठाकुरले भन्नुभयो। उहाँका अनुसार यसमा ३ सय हाराहारी आन्तरिक उडानको संख्या रहेको छ। सन् २०१७ मा आन्तरिकतर्फ काठमाडौंबाट देशभरका विभिन्न आन्तरिक गन्तव्यमा २३ लाख ८८ हजार ५ सय ८३ यात्रु उडानमा रहे। यो संख्या अघिल्लो वर्षको दाँजोमा ६ लाख ३० हजार ९सय ८७ ले बढी हो। २०१६ मा आन्तरिक यात्रुको संख्या १७ लाख ५७ हजार ५ सय ९६ थियो। त्यसैगरी यी दुई वर्षको आन्तरिक उडान पनि १९ हजार २ सय २१ ले बढेर ९३ हजार ९७ पुगेको छ।

          नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले नेपालमा एउटा अन्तर्राष्ट्रियसहित ४९ वटा विमानस्थल छन्। यीमध्ये १९ वटा आन्तरिक विमानस्थल सञ्चालनमा छैनन्। ७ वटा नयाँ विमानस्थल निर्माणाधीन अवस्थामा छन्।

          नेपालले ३८ वटा मुलुकसँग हवाई सम्झौता गरे पनि १४ वटा मुलुकका २८ वटा विदेशी एयरलाइन्सले नेपाललाई बाँकी विश्वसँग जोडेका छन्। अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमसहित हिमालयन र बुद्ध गरी तीनवटा स्वदेशी एयरलाइन्स पनि रहेका छन्।

जानकारी तथा लेखहरु