फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जहाज उडाउन तीन चिनियाँ क्याप्टेन नेपाल आउँदै

(GMT+08:00) 2018-03-30 15:54:24

         नेपाल वायुसेवा निगमले चिनियाँ जहाज वाई–१२ इ उडाउनका लागि ३ चिनियाँ क्याप्टेन ल्याउने भएको छ। हाल निगमसँग ४ थान जहाजका लागि २ जना मात्रै क्याप्टेन रहेका थिए। जसमा एकजना भने अझै बिरामी छन्। निगमले नेपाली क्याप्टेनभन्दा १ हजार डलर अमेरिकी डलर बढी तिरेर चिनियाँ क्याप्टेन ल्याउन लागेको कारोबार अनलाइनले लेखेको छ। निगमले एक जना चिनियाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक तलब दिनेगरी सहमति गरेको हो। निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ती चालकलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो।

         वाई–१२ इ जहाज उडान गर्ने नेपाली क्याप्टेनले ७ हजार डलर पाउँदै आएका छन्। पाइलट अभाव खेप्दै आएको निगमले चिनियाँ क्याप्टेन आएपछि १७ सिट क्षमताका ४ थान वाई १२ र ५६ सिट क्षमताका दुई थान एमए–६० ले आन्तरिक उडान राम्रो गर्ने आशा लिएको कंसाकार बताउनुहुन्छ। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाई–१२ इ सिरिजका जहाज दुर्गम क्षेत्रमा उडान गर्ने लक्ष्य राखिए पनि सुगममै उडान गर्नसमेत पाइलटको अभाव छ। विगतमा अंग्रेजी बोल्न नजान्ने पाइलट चिनियाँ पक्षले उपलब्ध गराउँदा समस्या भोगेको निगमले यसपटक भने अंग्रेजी भाषा जानेका पाइलट ल्याउन लागेको कंसाकारले जानकारी दिनुभयो।

         निगमसँग आन्तरिक उडानका लागि हाल चिनियाँ ६ थान र ट्वीनटर २ थान गरी ८ वटा जहाज भएका छन्। निगमले धमाधम चिनियाँ जहाज ल्याए पनि पाइलट तथा स्पेयर्स पार्ट्स अभावका कारण सञ्चालनमा नआउँदा प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ।

         नेपालमा दुर्गम क्षेत्रमा उडान गर्न भन्दै ल्याइएको वाई–१२ इ जहाजले पनि सुगम क्षेत्रमा नै उडान गरिरहेको छ। दुर्गम क्षेत्रमा उडान गर्न ल्याइएको वाई–१२ इ जहाज अझै पनि सुगममै उडान भर्नुपर्ने बाध्यता रहेको कंसाकार बताउनुहुन्छ।

          जहाज खासगरी हुम्ला, सिमकोटलगायतका क्षेत्रमा उडान गराउनेगरी नेपाल ल्याइए पनि चिनियाँ पक्षले अहिलेसम्म पनि दुर्गममा उडान गर्न सहयोग नगरेका कारण सुगममा उडाउनुपर्ने बाध्यता निगमलाई छ। ६ वटा चिनियाँ जहाज किन्न ६ अर्ब ६७ करोड १० लाख रूपैयाँ अनुदान तथा एक्जिम बैंकमार्फत सहुलियत ऋण उपलब्ध गराइएको हो। उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रूपैयाँ एमए–६० र एउटा वाई–१२ इ अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो। यस्तै, बाँकी ३ अर्ब ७२ करोड ८० लाख रूपैयाँमा एउटा एमए–६० र तीनवटा वाई–१२ इ जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो।

         निगमले गत महिना खरिद गरेको दुई थान वाई–१२ इले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाउनुपर्ने एयर ओर्दिनेस सर्टिफिकेट (एओसी) पाउन सकेका छैनन्। एओसी लिन प्रक्रिया पनि अन्तिम चरणमा पुगेकोले पाइलट ल्याउने र जहाजको प्रक्रियासँगै अगाडि बढिरहेको कंसाकारको भनाइ छ। प्राधिकरणले मागेका डकुमेन्टहरू बुझाइरहेकाले केही दिनमै एओसी पाउने कंसाकारले बताउनुभयो।

जानकारी तथा लेखहरु