फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले चैत २३ देखि भारतको भ्रमण गर्नुहुने

(GMT+08:00) 2018-03-31 16:01:17

        नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ (अप्रिल ६ देखि ८) सम्म भारतको भ्रमण गर्ने हुनुभएको छ। नेपाल र भारतको परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार एकसाथ विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको भ्रमण तय भएको गोरखापत्र अनलाइनले लेखेको छ।

     'प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट कि चीनबाट' जिज्ञासा भइरहँदा भारतबाट हुने समाचार मिडियामा यसअघि नै सार्वजनिक भएको थियो। तर, त्यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको थिएन। दुवै देशका सरकारबीच एकसाथ सूचना सार्वजनिक गर्ने सहमतिअनुसार शुक्रबार प्रधानमन्त्रीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो।

         भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लाग्नुभएको हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ। दुवै प्रधानमन्त्रीबीच आपसी सम्बन्ध र हितका विषयमा छलफल हुनेछ। त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकैया नायडूसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

         सोहीअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ मन्त्रीहरूसँग भेटेर दुई देशबीच आपसी हितका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्रीका साथ भ्रमणमा सरकारका मन्त्रीहरू, प्रतिनिधिसभाका केही सदस्यहरू, नेपाल सरकारका सचिवहरू र उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

         त्यस्तै, भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल र भारतबीचको सम्बन्ध अति प्राचीन समयदेखिको हो। भ्रमणकाक्रममा दुई देशबीचको आपसी हित, परस्पर सम्बन्धका विषयमा समीक्षासहितको छलफल हुने विज्ञप्तिमा जनाइएको छ।

         परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली उत्तराखण्डस्थित पन्तनगरमा अवस्थित गोविन्द वल्लभ पन्त कृष तथा प्रविधि विश्वविद्यालयको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। सो कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्किनुहुनेछ। प्रधानमन्त्रीले चैत १३ गते नेपालस्थित विदेशी राजदूतसँगको ब्रिफिङ कार्यक्रममा नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग समदूरीको सम्बन्ध कायम राख्ने बताउनुभएको थियो। सोहीअनुसार अन्य मित्रराष्ट्रहरूसँग पनि नेपालको सम्बन्ध दुईपक्षीय हितअनुकूल र समान हैसियतमा हुने चर्चा गर्नुभएको थियो।

         यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ फागुन ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो। भ्रमणअघि नेपाली सीमामा भारतले नाकाबन्दी लगाएको थियो। नाकाबन्दीको अवस्थामा भारतको भ्रमणमा नजाने अडान प्रधानमन्त्री ओलीले लिनुभएपछि भारतीय सरकारले नाकाबन्दी खुला गरेको थियो। सोपछि प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भए पनि भ्रमणको अन्त्यमा सामान्यतः जारी गरिने दुई देशको संयुक्त वक्तव्य समेत जारी गरिएको थिएन।

          प्रधानमन्त्रीले भ्रमणपछि आफ्नो भारत भ्रमण सफल भएको बताउनु भए पनि दुई देशबीचको तिक्तता कायम थियो। लगत्तै प्रधानमन्त्री ओली चीनको भ्रमणमा गई चीन सरकारसँग व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेर फर्कनुभएको थियो। त्यसले नेपाल–भारत सम्बन्ध थप चिसिन पुगेको थियो।

जानकारी तथा लेखहरु