फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका केपी शर्मा ओली भारत भ्रमण पछि स्वदेश फिर्ता

(GMT+08:00) 2018-04-09 14:44:02

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, "अब मैले धेरै बोलिरहनु पर्दैन, तस्बिर आफैँ बोल्छ।"

भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले भन्नुभयो, "कसैले बिगार्न खोज्यो भने त्यो बेग्लै कुरा, नत्र नेपाल–भारत सम्बन्ध सुध्रिँदै जानेछ। "

"हामी सम्बन्ध बिगार्न चाहँदैनौँ, कैयौँ कुरा लिखित रूपमै आइसकेका छन्" भन्दै उहाँले लिखित रूपमा नआएका कुरालाई अनावश्यक रूपमा नउछाल्न सबैसँग आग्रहसमेत गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। उहाँले दुई मुलुकबीच नसुल्झिएका विषयलाई उछाल्ने होइन, गम्भीर वार्ताबाट समाधान गर्दै जानुपर्छ भन्नुभयो।

नेपालले आफ्नो वैदेशिक सम्बन्ध मित्रताका आधारमा खुलस्त रूपमा, पारस्परिक हितमा, सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा अगाडि बढाउन चाहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले विदेश नीतिसम्बन्धी नेपालको धारणालाई भारतीय प्रधानमन्त्री तथा उच्च नेतृत्वले सकारात्मक रूपमा लिएको बताउनुभयो।

आफ्नो भ्रमण कुनै बनावटी वा देखावटी नभएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आफू नेपाली जनताको अभिमत बोकेर भारत गएको र त्यसलाई भारतले स्वागत गरेको बताउनुभयो। "एक मित्रको निमन्त्रणामा लोकतान्त्रिक प्रणाली र जनमत लिएर भ्रमणमा गएको हुँ, भारतले स्वागत गरेको छ", उहाँले भन्नुभयो। भारतीय समकक्षी मोदीसँग आफूले दुई मुलुकको सम्बन्ध सुधारका विविध आयामबारे छलफल गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। भूकम्पपछिको पुनःनिर्माण, पञ्चेश्वर आयोजना, सीमा विवाद, डुबान लगायतका समस्याका विषयमा समेत भारतीय पक्षसँग छलफल भएको बताउँदै उहाँले यी विषयमा भारतीय पक्ष गम्भीर रहेको जानकारी दिनुभयो।

भ्रमणको उपलब्धिबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी एवं अन्य मित्रराष्ट्रहरूसँग पारस्परिक हित, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने नीति वर्तमान सरकारको रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु