फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो

(GMT+08:00) 2018-04-09 14:48:00

नेपालको हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ चिकित्सक खटाएको छ। संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दुई नेपाली र सात विदेशी चिकित्सक खटाएको गोरखापत्र अनलाइनले लेखेको छ। जसमा सोलुखुम्बुको सगरमाथा आधार शिविरमा तीन, सोलुखुम्बुको फेरिचेमा तीन र मनाङको मनाङगाँउमा तीन चिकित्सक खटाएको छ।

स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सकहरु पठाएको संघका कार्यकारी निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो।

पर्यटन विभागले दिएको जानकारीअनुसार यो सिजनमा अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन्। जसमा सगरमाथा चढ्न मात्रै २३ समूह र बाँकी अरू हिमाल चढ्नका लागि अनुमति लिएको विभागले जनाएको छ। विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ। छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ।

जानकारी तथा लेखहरु